आज गुरुङ समुदायको महत्वपुर्ण पर्व तमु ल्होसार

  • प्रकाशित मिति: शुक्रबार, पुष १५ २०७९
  • तामाकोशी

काठमाण्डौ – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु’ ल्होसार भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ ।



आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।