संरक्षणपछि रामेछापको चिसापानी गढीमा पर्यटक बढे

  • प्रकाशित मिति: सोमबार, पुष ११ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानी स्थित चिसापानी गढी घुम्न आउने पर्यटक बढेका छन् । जिल्लाकै ऐतिहासिक यो गढीमा स्थानीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका लागि विभिन्न संरचनाहरू निर्माण गरेसँगै घुम्न र मनोरम दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकहरू बढेका हुन् ।
सिन्धुली गढीको सायक गढी चिसापानी गढीलाई नेपाल र अङ्ग्रेज युद्धको बेला नेपालका सेनाले प्रशिक्षण गर्ने थलोको रूपमा प्रयोग गरेको स्थानीय बत्ताउँछन् । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरू रहेकाले चिसापानी गढी महत्त्वपूर्ण रहेको अङ्ग्रेजसँगको युद्धमा नेपालका सेनाहरूलाई चिसापनी गढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको स्थानीय बत्ताउँछन् । जिल्लाकै ऐतिहासिक र छुट्टै पहिचान अनि महत्त्व बोकेको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको यो गढी घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरू बढेको चिसापानी गढी संरक्षण तथा विकास समाजका अध्यक्ष उत्तम श्रेष्ठले बताउनुभयो । जिल्लाकै ऐतिहासिक अनि महत्त्व बोकेको गढी घुम्न आउनेको सङ्ख्या बढ्दो छ, गढी संरक्षणका लागि बागमती प्रदेश तथा स्थानीय सरकारले विभिन्न संरचनाहरू निर्माण गरेको छ उहाँले भन्नुभयो ।
अहिले चिसापानी गढी संरक्षण तथा विकास समाजले नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरूको संरक्षण गर्दै थप कुराहरूको खोजि गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो सयम चिसापानी गढी घुम्ने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको चिसापानीका निवर्तमान वडा अध्यक्ष समेत रहनुभएका स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘गढीमा निर्माण भएका सिँढी सहितको पैदल मार्ग, मन्दिर तथा अन्य संरचनाहरूको अवलोकन भ्रमण गर्नेहरू बढेका छन् । यो गढी संरक्षण र आवश्यक प्रचारप्रसारको अभावले अझै ओझेलमै छ, यसमा नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समेत ध्यान जान आवश्यक छ।’’ चिसापानी गढीलाई केन्द्रमा राखेर मन्थली नगरपालिका–८ चिसापानी गाईखुराबाट भिसेनस्थान मन्दिरसम्म बागमती प्रदेश सरकारको ६० लाख र मन्थली नगरपालिकाको ५० लाख रुपियाँ बजेटमा दुई किलोमिटर सिँढी सहितको पैदल मार्ग निर्माण गरिएको मन्थली नगरपालिका प्राविधिक शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । उहाँका अनुसार स्थानीय घडीछाँप डाँडाबाट गढीसम्म बागमती प्रदेश सरकारको ४० लाख रुपियाँ बजेटबाट ४५० मिटर बढी सिँढी सहितको पैदल मार्ग पनि निर्माण गरिएको छ ।