ह्वीलचेयरबाट मोडिएको यात्रा : राष्ट्रिय ह्विलचियर बास्केटबलको कप्तान देखि सांसदसम्म

  • प्रकाशित मिति: आइतबार, पुष १० २०७९
  • तामाकोशी

रामेछाप । १६ वर्षको उमेरमै भीरबाट लडेर मेरुदण्डको पक्ष घात भएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ की लक्ष्मी घिमिरेको जीवनको बाटो बिथोलिएको थियो । ११ कक्षामा पढ्दै गर्दा २०६६ सालमा गाउँमा भीरबाट लडेर मेरुदण्डको पक्ष घात भयो ।
ढाडको स्पाइनल नशा च्यापिएपछि उहाँको शरीरको कम्मर मुनिको भाग नचल्ने भयो । त्यसपछि ह्वीलचेयरबाट उहाँको जीवनको यात्रा तय भयो । यसपछि उहाँको जीवनको बाटो मोडियो । आज त्यही ह्वीलचेयरबाट मोडिएको बाटोले उहाँलाई प्रदेशसभा सांसदसम्म पु¥याएको छ ।
उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक तर्फबाट बागमती प्रदेश सभा सदस्य बनाएको छ । राप्रपाबाट बागमती प्रदेशसभामा समानुपातिक सांसद छानिएकी लक्ष्मी एक मात्र अपाङ्ग सांसद हुनुहुन्छ । अपाङ्गता भएपछि यहाँसम्म पुग्न धेरै सङ्घर्ष गर्नुभएका घिमिरेलाई अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने समाज परिवर्तन गर्ने चिन्ताले सधैँ सताइ नै रहन्थ्यो । यही चिन्ताको अन्तिम विकल्प भनेको उहाँलाई राजनीति नै हो भन्ने लाग्यो । २०७४ सालमा साझा पार्टी स्थापना भयो र यही पार्टीबाट उहाँको राजनीतिक यात्रा सुरु भयो ।
यो पार्टीको युवा सङ्गठनको केन्द्रीय समितिमा रहेर उहाँले केही समय काम गर्नुभयो । यसबिचमा साझा पार्टी र विवेकशील पार्टी बिच एकता भयो । यसपछि उहाँले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुँदै पार्टीको सदस्यता व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभयो । यसबिचमा पार्टीभित्र विभिन्न आन्तरिक समस्याहरू देखिएपछि उहाँ एजेन्डा मिल्ने राप्रपामा २०७९ असोज १२ गते विवेकशील साझा पार्टीबाट आउनुभएको हो ।


‘अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई हाम्रो समाजले बिचरा र दयाको दृष्टिकोण हेर्ने गर्छ, यही समाज र समाजका मान्छेहरूको सोचाइलाई परिवर्तन गर्ने अन्तिम विकल्प राजनीति नै हो’, उहाँले भन्नुभयो । आफूलाई राजनीति यो परिवर्तन सम्भव छ भन्ने लागेर राजनीतिक यात्रा सुरु गरेको उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारसँगै अपाङ्गता मैत्री संरचना निर्माणका लागि सदनबाट जोडदार आवाज उठाउने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अझै सरकारी कार्यालय, अस्पताल समेत अपाङ्ग मैत्री छैनन् । अब अपाङ्गता मैत्री संरचना निर्माणका लागि सदनबाट जोडदार आवाज उठाउँछु ।’’ अपाङ्गता भएका व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य र दक्षता अनुसारको रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने भएकाले यसलाई पनि सदनबाट जोडदार रूपमा उठाउने उहाँले बताउनुभयो ।
आफू खेल क्षेत्रबाटै आएकाले खेलकुद क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राज्यले समान लगानी गर्नुपर्ने आफ्नो माग रहेको उहाँले बताउनुभयो । उहाँ राष्ट्रिय ह्विलचियर बास्केटबल टिमकी कप्तान पनि हुनुहुन्छ । ‘१० वर्ष देखि ह्वीलचेयर बास्केटबल, भारोत्तोलन लगायतका खेलमा सक्रिय छु, अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद महत्त्वपूर्ण छ, त्यसैले उनीहरूका लागि पनि राज्यले समान लगानी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
देशले प्रदेश धान्न नसक्ने भएकाले प्रदेश सभाको पहिलो बैठकमा प्रदेश खारेजीको एजेन्डा जोडदारसँग उठाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रदेश सभाको पहिलो बैठकमै प्रदेश खारेजीको एजेन्डा जोडदारसँग उठाउँछौँ । अरू कुरा राप्रपा अहिले सरकारमा जाने कुरा छैन, प्रतिपक्षमा बसेर राम्रो कामको समर्थन र नराम्रो कुराको विरोध गछौैँ ।’’