जनमतको सम्मान र कदर गर्दै रामेछापको विकासमा लाग्छु : पूर्णबहादुर तामाङ

  • प्रकाशित मिति: बिहिबार, मंसिर २९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछापेली जनताले आफूलाई दिएको मतको सम्मान र कदर गर्दै रामेछापको विकास गर्ने बताउनुभएको छ । बिहीबार सदरमुकाम मन्थलीमा आयोजित नेपाल पत्रकार महासङ्घ रामेछापको १९ औँ वार्षिक साधारण सभामा बोल्दै सांसद तामाङले यस्तो बताउनुभएको हो । रामेछापेली जनताले जिल्लाको विकासका लागि काम गर्ने विश्वासले देशभरकै चौथो स्थानमा बढी मत ल्याउने गरी आफूलाई निर्वाचित गराएको भन्दै जनतालाई समेत उहाँले धन्यवाद दिनुभयो । रामेछापका जनताको चाहाना अनुसार जिल्लाको विकास गर्न शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, खानेपानी लगायत क्षेत्रको विकास आवश्यक रहेकाले यही क्षेत्रहरूको विकासका लागि आफूहरू लाग्ने उहाँको भनाइ छ । रामेछाप जिल्लालाई विकासको बहार फुटाउँदै कस्तो बनाउने भन्ने बारेमा सङ्घ तथा प्रदेश सदस्यमा निर्वाचित जनप्रतिनिधिहरूलाई आवश्यक जानकारी रहेकाले रामेछापको विकास हुँदैन कि भनेर कसैले चिन्ता लिन आवश्यक नरहेको उहाँले बताउनुभयो ।