रामेछाप प्रहरी प्रमुखको नयाँ आवास भवन, वागमती प्रदेश प्रहरी प्रमुखद्वारा उद्घाटन (भिडियोसहित)

  • प्रकाशित मिति: मंगलबार, मंसिर २७ २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख र सिनियर प्रहरी अधिकृतको नयाँ आवास भवन निर्माण भएको छ । प्रहरी प्रमुखको डेढ तले र सिनियर अधिकृतहरूको अढाई तले आवासीय भवनको सोमबार वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्दै बज्राचार्यले विगतमा प्रहरी कार्यालय र आवासको निक्कै समस्या भएको भए पनि बिस्तारै पूर्वाधार निर्माणका काम अधि बढेका बताउनुभयो । अहिले पनि टिनको टहरामा बसेर प्रहरीले कार्यसम्पादन गरिरहेको बताउनुभयो । यस्तो विषम परिस्थितिमा पनि प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । अहिले प्रहरीको पूर्वाधार निर्माणको लागि केन्द्र, प्रदेश र स्थानीय सरकाले राम्रो सहयोग गरेका उहाँले बताउनुभयो । पूर्वाधार विस्तारसँगै प्रहरीले आफ्नो सेवा पनि जनअपेक्षा अनुसार पूरा गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



थापा निर्माण सेवा प्रालिले ३ करोड ७ लाख ५४ हजार ८ सय ७ रुपैँयाको लागतमा सो भवन निर्माण गरेको प्रहरी उपरीक्षक इञ्जिनियर ईश्वर थापाले कार्यक्रममा जानकारी दिनुभयो । २०७८ असार ३ गते निर्माण सम्झौता भएको भवन १६ महिनामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले समयमा नै कार्यालय भवन निर्माण गरेको भन्दै निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुखको कार्यसम्पादनको नतिजा पनि उल्लेख्य भएको भन्दै रेग्मीले प्रशंसा गर्नभयो । कार्यक्रमका सहभागीलाई धन्यवाद दिँदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले सबैको सहयोग र प्रेरणाले राम्रो काम गर्न सकिएको बताउनुभयो । उहाँले कार्यक्रममा आएका सुझावले प्रहरीलाई आउने दिनमा गर्ने कामको मार्गप्रसस्त गरेको भन्दै धन्यवाद दिनुभयो ।