रामेछापमा समानुपातिक तर्फ एमाले पहिलो दल

  • प्रकाशित मिति: सोमबार, मंसिर १९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले रामेछापबाट प्रतिनिधिसभा तर्फ समानुपातिकमा ८९ हजार ४७३ मतमा २८ हजार १५० मत प्राप्त गरेको छ । यस्तै प्रदेशसभा तर्फ ८८ हजार ६२७ मतमा एमालेले २८ हजार ५०४ मत पाउँदै पहिलो दल बनेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ २४ हजार १०१ मत पाएको छ भने प्रदेशसभा तर्फ २५ हजार ७०५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ २१ हजार ५४ मत र प्रदेशसभामा जम्मा १८ हजार ६८५ मत प्राप्त गरेको छ । पूर्व सञ्चारकर्मी रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा ४ हजार ६२३ मत ल्याएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा तर्फ २ हजार ७०१ मत पाउँदा प्रदेशसभा तर्फ ३ हजार ६८६ मत पाएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ एक हजार ३४८ र प्रदेशसभा तर्फ २ हजार ५३ मत प्राप्त गरेको छ । रामेछापमा प्रतिनिधिसभाको समानुपातिकमा १० वटा दलले १०० मत कटाएका छन् भने ३३ वटा दलले १०० मत पनि कटाउन सकेनन् । प्रदेशसभा समानुपातिक निर्वाचनमा दुई वटा दलले ५०० मत, ९ वटा दलले १०० मत कटाएका छन् भने २३ वटा दलले १०० मत पनि प्राप्त गर्न सकेनन् ।