रामेछाप । रामेछापमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । कार्तिक ३० गते देखि निर्वाचन सामाग्री वितरण सुरु गरी मङ्सिर १ गते सबै मतदानकेन्द्रहरुमा निर्वाचन सामाग्री र टोली खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यलय रामेछापका सहायक निर्वाचन अधिकृत योगेन्द्र ढुङ्गेलले बताउनुभयो । निर्वाचनका लागि ९६ वटा मतदान केन्द्रका २२६ मतदान स्थलमा एक हजार ८१४ जना कर्मचारी खटाइएको ढुङ्गेलले बताउनुभयो । जिल्लामा सुरक्षाका हिसाबले कुनै कमी हुन नदिन आवश्यक प्रबन्ध मिलाएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई हेरेर जिल्ला भर दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान स्थल र केन्द्र लगायत आवश्यक सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लामा राम्रो शान्ति सुरक्षाको व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभयो । दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र प्रदेशसभा ख मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।
रामेछापमा निर्वाचनको सबै तयारी पुरा : ढुक्क भएर मतदान गर्न प्रजिअ रेग्मीको आग्रह
- प्रकाशित मिति: शुक्रबार, मंसिर २ २०७९
- तामाकोशी