रामेछाप । नेकपा एमाले रामेछापले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम घरदैलो कार्यक्रम जिल्ला सदरमुकाम मन्थली बजारमा गरेको छ । नेकपा एमाले प्रतिनिधि समा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल र प्रदेश सभा क का उम्मेदवार शान्तिप्रसाद पौडेलले बिहीबार बिहानैदेखि मन्थली बजारमा मतदातालाई भेटेर मत माग्नु भएको छ । बिहान पार्टी कार्यालयबाट निस्किएर सुरु भएको घरदैलो कार्यक्रम मन्थली बजार परिक्रमा गरी भैसेसुरमा पुगेको थियो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेदवारका साथै प्रदेश सभामा समानुपातिक तर्फकी उम्मेदवार माया कार्की, हर्कमाया माझी, पार्टीको प्रदेश कमिटी, तथा जिल्ला कमिटीका नेताहरू, एमाले मन्थली नगरपालिका प्रमुख रामबाबु घिमिरे, नगर पार्टीका नेताहरू, जन वर्गीय संगठनका नेता लगायतको सहभागिता रहेको थियो । नेताहरूले मन्थली बजारमा रहेका मदन भण्डारी र जीवराज आश्रित, बीपी कोइराला तथा मनमोहनको सालिकमा माल्यार्पण समेत गर्नुभएको थियो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार आज राति १२ बजेबाट निर्वाचनको स्थिर समय सुरु हुने छ । यो अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन ।
स्थिर समय अघि एमाले रामेछापको मन्थलीमा घरदैलो
- प्रकाशित मिति: बिहिबार, मंसिर १ २०७९
- तामाकोशी