रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर राउतले आफ्नो उम्मेदवारीलाई निष्क्रिय बनाउँदै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङलाई समर्थन गर्नुभएको छ । नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सचिव समेत रहनुभएका राउतले बुधवार सदरमुकाम मन्थलीमा पत्रकारसँग भेटघाट गरी लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङलाई समर्थन गरेको घोषणा गर्नुभएको हो । काँग्रेस रामेछापको कार्यशैलीप्रति असन्तुष्ट नेता कार्यकताहरुलाई साथमा लिएर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्नुभएका राउतले निर्वाचन आयोगले प्रदान गरेको क्यामेरा चिन्ह लिएर मत माग्न चुनावी अभियान पनि चलाउनुभएको थियो । तर अहिलेको अवस्थामा जिल्ला पार्टी प्रति धेरै असहमति हुँदा हुँदै पनि पार्टीलाई जोगाउन र पार्टीको उम्मेदवारलाई विजयी गराउने कुरालाई महत्त्वपूर्ण ठानेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको उहाँले बताउनुभयो ।
उहाँले भावुक हुँदै भन्नुभयो ‘‘ पार्टीभित्रको मेरो असहमति कायमै छ, तर अहिले काँग्रेसलाई जोगाउने र काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने महत्त्वपूर्ण अवस्थालाई मध्यनजर गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको छु ।’’ मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह क्यामेरामा नभै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ(कान्छाराम) को चिन्ह रुखमा भोट हाले विजयी गराउन पनि मतदाताहरूलाई उहाँले आग्रह गर्नुभयो । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ(कान्छाराम) ले यो अवस्थामा आएर आफ्नो उम्मेदवारीलाई निष्क्रिय बनाएर आफूलाई समर्थन गरेर काँग्रेस नेता राउतले पार्टी र आफूलाई ठुलो गुण लगाएको भन्दै धन्यवाद दिनुभयो । ‘काँग्रेस नेता चन्द्रबहादुर राउतले जिल्ला पार्टी र मलाई ठुलो गुण लगाउने काम गर्नुभएको छ, राउतको पार्टीमा ठुलो योगदान रहेकाले उहाँलाई पार्टीले उचित सम्मान र स्थान दिन्छ’, उहाँले भन्नुभयो । काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले यो घडीमा आएर नेता राउतले चाल्नुभएको यो कदमले आफू र सिङ्गो काँग्रेस पार्टीलाई खुसी बनाएको बताउनुभयो । काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले पार्टीमा लामो समयदेखि रगत पसिना सिञ्चित गर्ने राउत जस्ता नेताहरूलाई पार्टीले सम्मानका साथ उचित स्थान पनि दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
