रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्यो : तारानारायण श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २९ २०७९
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनबाट रामेछाप प्रदेशसभा क का उम्मेदवार तारानारायण श्रेष्ठले रामेछापमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको विकल्प नभएको बताउनुभएको छ । मङ्गलवार सदरमुकाम मन्थलीमा पत्रकाहरुसँग कुरा गर्दै उम्मेदवार श्रेष्ठले नेकपा एमालेमा भन्दा दोब्बर बढी जनमत गठबन्धनप्रति रहेकाले गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित जस्तै भइसकेको बताउनुभयो । गठबन्धने जनतामा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएकाले पनि रामेछापमा निर्वाचन जित्न गठबन्धनका उम्मेदवारहरुलाई कुनै समस्या नरहेको उहाँको भनाइ छ । अहिले गठबन्धनप्रतिको जनलहर देखेर नेकपा एमालेले काँग्रेस र माओवादीमा आन्तरिक विवाद बढेको छ भनेर भ्रम फैलाइरहेको समेत उहाँले आरोप लगाउनुभयो । केन्द्र तहमा भएको सहमतिलाई लत्त्याएर रामेछापमा एकीकृत समाजवादीले गठबन्धनका विरुद्धमा बागी उम्मेदवार उठाएर गद्दार गरेको उहाँको भनाइ छ । एकीकृत समाजवादीका पोलितव्यूरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल माधव नेपालको खिलाफमा लागेको उहाँले बताउनुभयो । गठबन्धनका विरुद्धमा बागी उम्मेदवार उठाएर देवशंकर पौडेलले इतिहास पोलेर खाएको समेत उहाँको आरोप छ । आफू निर्वाचित भएपछि रामेछापको जलसम्पादाको समुचित प्रयोग गरेर रामेछापेली जनताको चाहाना अनुसार जिल्लाको विकास गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।