जनताले दिने आशिर्वाद सहितको भोटबाट एमालेले विजय प्राप्त गर्छ : मिलन घिसिङ

  • प्रकाशित मिति: आइतबार, कार्तिक २७ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले नेकपा एमाले र सो पार्टीका उम्मेदवारलाई नेपाली जनताले आशिर्वाद दिने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आइतबार दोरम्बामा आयोजना गरेको चुनावी सभामा बोल्दै घिसिङले नेपाली जनताले दिने आशिर्वाद सहितको भोटले मङ्सिर ४ मा एमालेले विजय प्राप्त गर्ने बताउनुभयो । दोरम्बाले नेपालको राजनीतिमा धेरै बलिदान दिएको भए पनि दोरम्बाले केही पाएन भन्ने गुनासो बारम्बार आउने गरेको घिसिङले बताउनुभयो । दोरम्बाको बलिदानी इतिहासलाई नेकपा एमालेले सम्मान गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
पार्टी मात्रै छान्ने होइन असल पार्टी र उम्मेदवारलाई चुनावमा छान्न उहाँले अनुरोध गर्नुभयो । पार्टी नै छान्दा पनि एमाले जत्तिको पार्टी नेपालमा नभएको उहाँले स्पष्ट पार्नुभयो । देश विकास र समृद्धिको लागि एमालेले जत्तिको अरू कुनै पार्टीले गर्न नसकेको उहाँले बताउनुभयो । दोरम्बाको विकासका लागि कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा पठाएको बजेट समेत गाउँपालिकाले सदुपयोग नगर्दा कतिपय योजना अलपत्र परेका भन्दै उहाँले आयोजना गर्नुभयो । यसमा नागरिकले खबरदारी गर्नुपर्ने घिसिङले बताउनुभयो । चुनावको बेला मात्र झुल्किने नेहरुलाई भोट दिँदा मतदाताले पछुताउनुपर्ने उहाँले बताउनुभयो । जिल्लाको विकास र समृद्धिको लागि पनि भूमि र भूगोल बुझेको नेता र पार्टीलाई भोट दिन उहाँले सुझाव दिनुभयो ।