मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको थपलियाको आग्रह

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २५ २०७९
  • तामाकोशी

चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताउनुभएको हो ।



उहाँले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मंसिर १ गते साँझ सम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गर्नुभयो ।