रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब १५ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । नेकपा एमाले रामेछाप प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा शनिवार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । नेकपा(एमाले) उमाकुण्ड गाउँपालिका –६ गुप्तेस्वर वडा कमिटीको आयोजनामा भएको मतदाता भेटघाट तथा कोण सभा कार्यक्रम बोल्दै उम्मेदवार पौडेलले रामेछापको विकास गर्न जनतासँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा कमिटीका अध्यक्ष चन्द्र बहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । आर्थिक विकास र समृद्धिका लागि विगतमा एमालेले गरेको काम र अब गर्ने कामका बारेमा एमालेसँग प्रस्ट एजेन्डा रहेकाले एमालेले राखेको बहुमतको सरकारको प्रस्ताव जनताले भोट हालेर पूरा गराइदिने विश्वास व्यक्त गर्नुभयो ।
जनतासँग हातेमालो गरेर रामेछापको विकास गछौँ : शान्ति पौडेल
- प्रकाशित मिति: शनिबार, कार्तिक १९ २०७९
- तामाकोशी