रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले मतदातालाई सही मौकामा सही निर्णय गर्न आह्वान गर्नुभएको छ । नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले बिहीबार दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुर साल्मेमा बिहीबार आयोजना गरेको चुनावी कोण सभामा बोल्दै नेता ढुङ्गेलले सही समयमा सही निर्णय नगर्दा पछुताउनुको विकल्प नहुने बताउनुभयो । ‘सही समयमा सही निर्णय गर्नुस्, मङ्सिर ४ मा सूर्यमा मतदान गर्नुस्’, ढुङ्गेलले भन्नुभयो । एमालेले विकासको काम सुरु गरेको भए पनि अझै गर्नुपर्ने काम धेरै भएको उहाँले बताउनुभयो । भर्खरै कामको सुरुवात भएको कति काम भयो भन्ने प्रश्न होइन, अब के के गर्नुपर्ने छ भन्ने सुझाव दिन उहाँले मतदातालाई अनुरोध गर्नुभयो ।
एमालेले भोट हालेर बहुमतले जितायो भने मात्र संविधानको रक्षा, देशको विकास र उज्यालो नेपाल निर्माण हुने उहाँले बताउनुभयो । समय परिवर्तनसँगै नागरिकका आवश्यकतालाई पनि एमालेले सम्बोधन गर्दै जाने ढुङ्गेलले बताउनुभयो । एमाले विकास गर्ने बालबालिका, युवा र ज्येष्ठ नागरिकको पार्टी भएको ढुङ्गेलले बताउनुभयो । एमालेको सरकारले पाँच वर्षमा अहिलेको सामाजिक सुरक्षा भत्तालाई डबल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । हरके वर्ष सामाजिक सुरक्षा भत्ता एक हजारका दरले बढाउँदै लैजाने उहाँले प्रष्ट पार्नुभयो । एमाले र मतदाताको बिच माया, ममता र सद्भाव रहको उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवारहरु पैसा लिएर आए पनि एमालेका मतदाता तलमाथि नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमाले विकास गर्ने बालबालिका, युवा र ज्येष्ठ नागरिकको पार्टी हो : कैलाश ढुङ्गेल
- प्रकाशित मिति: बिहिबार, कार्तिक १७ २०७९
- तामाकोशी