एमाले नीति बनाउने पार्टी, अरू सबै पार्टी त्यसका कार्यकर्ता : शान्तिप्र. पौडेल

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १५ २०७९
  • तामाकोशी

धोबि । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलले कानुनले नै विकासलाई डोर्‍याउने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मंगलबार रामेछापको धोबी बजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै वाग्मती प्रदेश सभा सदस्यको रामेछाप प्रदेश सभा क का उम्मेदवार समेत रहनुभएका पौडेलले एमाले जनमैत्री र देशलाई समृद्ध बनाउने कानुन निर्माण लागि प्रतिबद्ध भएर लागेको बताउनुभयो । विगतमा आफू प्रदेश सभा सदस्य हुँदा पनि धेरै समय त्यसमा खर्च गरेको पौडेलले सुनाउनुभयो ।
नेकपा एमालेले तीन वर्षे कार्यकालमा विकासको जग बसाएको पौडेलले दाबी गर्नुभयो । एमाले सरकारबाट हटेर गठबन्धन सरकार आउने बित्तिकै विकास योजना कटौती भएको उहाँले जानकारी दिनुभयो । ‘माओवादीका सालिकराम जमरकट्टेल अर्थमन्त्री भएपछि ३३ वटा त सडककै योजना रोक्नु भयो, नभए उहाँको मन्त्रालयको फाइल हेरे हुन्छ’, उहाँले भन्नुभयो ।
अहिलेको गठबन्धन जनताको लागि नभएर स्वार्थको गठबन्धन भएको उहाँले बताउनुभयो । गठबन्धन नेताहरूको बिचमा मात्र भएको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धनमा रहेका दलको कुनै भविष्य नभएको उहाँले बताउनुभयो । ‘भविष्य नेकपा एमालेसँग मात्र छ, आउनुहोस् एउटै आन्दोलनमा लागौँ’, पौडेलले भन्नुभयो ।
पौडेलले अहिले हालेकै भोटले सरकार, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति लगायत देशको भविष्य बनाउने भएकोले मतदान गर्नु अघि एक पटक सोच्न उहाँले मतदातालाई आह्वान गर्नुभयो । ‘विकास र समृद्धिको पक्षमा मत हाल्ने कि, बाँडिचुँडी खानेको पक्षमा हाल्ने ?’, पौडेलले प्रश्न गर्नुभयो ।
देश विकासको एजेण्डा एमालेसँग मात्र भएको उहाँले प्रस्ट्याउनुभयो । ‘नेकपा एमाले नीति बनाउने पार्टी हो, अरू सबै पार्टी त्यसका कार्यकर्ता हुन्’, उहाँले भन्नुभयो ।
एमालेले सामाजिक सुरक्षाको कार्यक्रम ल्याए पछि सबैले त्यसैलाई पछ्याउँदै आएका उहाँले बताउनुभयो । एमालेले सुरु गरेको गाउँमा बजेट पठाउने कार्यक्रम अहिलेसम्म कसैले रोक्न नसकेको उहाँले उदाहरण दिनुभयो । एमालेले ल्याएको चुच्चे नक्सामा सबै दल कार्यकर्ताको जसरी सहमत भएर आएका उहाँले प्रस्ट्याउनुभयो ।