धोबि । नेकपा एमाले वाग्मती प्रदेश सभामा समानुपातिक तर्फका उम्मेदवार तथा रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले नेकपा एमाले मंसिर ४ को निर्वाचनमा विजयको सन्निकट पुगेको बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मङ्गलवार रामेछापको धोबी बजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै चुनावी अभियानमा नागरिकबाट प्राप्त भएको समर्थनले एमालेको जीत सुनिश्चित गरेको श्रेष्ठले बताउनुभयो । एमालेको अभियान जहाँ पुग्दा पनि नागरिकको समर्थन र सद्भाव प्राप्त भएको उहाँले प्रष्ट पार्नुभयो ।
राज्य सत्ताक थुप्रै रूप परिवर्तन गर्न जरुरी भएको बताउँदै श्रेष्ठले त्यसको लागि एमाले सरकारमा जान जरुरी रहेको बताउनुभयो । एमाले नागरिकको मन जितेर सत्तामा जाने र आमोल परिवर्तनको लागि काम गर्ने योजनाका साथ आएको उहाँले बताउनुभयो ।
विगतमा पार्टीको तर्फबाट केही कमजोर भएका हुनसक्ने बताउँदै श्रेष्ठले त्यस प्रति क्षमा याचना गर्नुभयो । ‘आगामी दिनमा एमालेले गल्ती नदोहोरिन गरी काम गर्ने छ’, श्रेष्ठले भन्नुभयो ।
एमालेले कम्युनिष्ट आन्दोलनलाई सही ढङ्गले अघि बढाउने योजनाको साथ माअोवादीसँग पार्टी एकता गरेको भए पनि प्रचण्डलाई त्यो नपचेको उहाँले बताउनुभयो । ‘समाजवाद स्थापनाको लागि प्रतिबद्ध माओवादी नेता कार्यकर्ताहरु एमालेमा नै हुनुहुन्छ, भारतको इसारामा चल्ने प्रचण्ड र माधव नेपालहरु पार्टी फुटाएर कांग्रेसको पोल्टोमा पुग्नुभयो’, श्रेष्ठले भन्नुभयो ।
माओवादीले आफ्नो पूर्वको रोल्पा भन्ने रामेछापमा प्रतिनिधि सभाको टिकट कांग्रेसलाई बेचेको उहाँले बताउनुभयो । त्यसैले माओवादीलाई रामेछापमा भोट माग्ने अधिकार नभएको श्रेष्ठले प्रष्ट पार्नुभयो ।
समाजवाद स्थापनाको लागि प्रतिबद्ध माओवादी नेता कार्यकर्ता एमालेमा हुनुहुन्छ :आनन्द श्रेष्ठ
- प्रकाशित मिति: मंगलबार, कार्तिक १५ २०७९
- तामाकोशी