धोबी । नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य कमलप्रकाश सुनुवारले मङ्सिर ४ को निर्वाचन एमालेले अमेरिका र भारत विरुद्ध लडिरहेको बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले मंगलबार रामेछापको धोबी बजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै सुनुवारले एमाले विरुद्ध लड्न आएका सबै पार्टी झिना मसिना पार्टी भएको बताउनुभयो । ‘अहिले विकासका झिना मसिना कुरा गर्ने भन्दा पनि देश कसरी जोगाउने भन्ने विषय प्रमुख विषय हो’ उहाँले भन्नुभयो ।
सुनुवारले एमालेको लडाई कांग्रेस माओवादीसँग नभएको बताउनुभयो । ‘एमालेको लडाइँ भारत र अमेरिकासँग हो, समृद्धि नेपाल, सुखी नेपाली बनाउने लडाइँ हो’, उहाँले भन्नुभयो ।
कांग्रेस र माओवादी अहिले नेपाललाई सिक्किमीकरण र फिजीकरण गर्न लागेका बताउनुभयो । नागरिकता विधेयक ल्याएर नेपाललाई भारतमा मिलाउन उनीहरू लागेको सुनुवारले बताउनुभयो । एक प्रतिशत भारतीय मात्रै नेपाल भित्रिए भने पनि नेपाल समाप्त हुने उहाँको भनाइ छ ।
एमाले व्यक्ति लिएर होइन सिद्धान्त र विचार लिएर चुनावमा आएको बताउनुभयो । त्यसैले राष्ट्र जोगाउनको लागि एमालेलाई मतदान गर्न उहाँले आह्वान गर्नुभयो ।
एमालेको लडाइँ भारत र अमेरिकासँग : कमलप्रकाश सुनुवार
- प्रकाशित मिति: मंगलबार, कार्तिक १५ २०७९
- तामाकोशी