एमालेले तयार पारेको विकासको आधार गठबन्धनले अस्तव्यस्त बनायो : शान्ति पौडेल

  • प्रकाशित मिति: सोमबार, कार्तिक १४ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलले वर्तमान गठबन्धनका दल विकास विरोधी भएका बताउनुभएको छ । नेकपा एमाले रामेछापको प्रदेश सभा क निर्वाचन परिचालन कमिटीले सोमबार मन्थली नगरपालिकाको कठजोरमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पौडेलले एमालेले सुरु गरेको विकासका काम गठबन्धन सरकारले रोकेको बताउनुभयो । पौडेलले एमालेले देशमा विकासको आधार तयार गरेको तर त्यसलाई गठबन्धनले एक वर्षको बिचमा अस्तव्यस्त बनाएको बताउनुभयो । त्यसलाई पुनः अघि बढाउन एमालेको सरकार बन्न जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो । यसको लागि आउने मङ्सिर ४ को निर्वाचनमा एमालेको उम्मेदवारले जित्न आवश्यक रहेको पौडेलले बताउनुभयो । अहिले पहाडका ग्रामीण क्षेत्रको प्रमुख समस्या खानेपानी रहको बताउँदै पौडेलले लिफ्ट खाने पानी त्यसको विकल्प भएको बताउनुभयो । खानेपानी विद्युत् सहुलियत दिनु पर्छ भन्ने कुरा एमालेले उठाइरहेको उहाँले बताउनुभयो । एमाले खानेपानी विद्युत् महसुल निःशुल्क गर्नुपर्छ भन्ने पक्षमा रहेको पौडेलले प्रष्ट पार्नुभयो । विकास र राज्यको सेवामा नागरिकको पहुँच बढाउँदै लैजाने कुरामा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । एमाले निस्वार्थ भावनाका साथ देश विकासको काममा लागेको र लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पेसा र सेवा फरक फरक कुरा भएको बताउँदै पौडेलले पेसामा नाफा खोजिने र सेवामा त्यो नहुने उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवार नाफा खोज्दै आएकाले उनीहरूले जनताको सेवा गर्न नसक्ने उहाँले बताउनुभयो ।