आफ्नो पक्षमा मत माग्न गाउँगाउँमा पुगे उम्मेदवार

  • प्रकाशित मिति: आइतबार, कार्तिक १३ २०७९
  • तामाकोशी

रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब २१ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । सबै राजनीतिक दलका उम्मेदवार पार्टीका नेताहरूलाई साथमा लिएर घर दैलो कार्यक्रममा व्यस्त छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुंगेल र प्रदेशसभा सदस्य ख का उम्मेदवार मिलनकुमार घिसिङ रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न वडाका मतदाताहरुसँग वृहत् भेटघाट र घरदैलो अभियान छन् । एमालेका उम्मेदावरहरु मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँ पुगेका छन् । एमालेका दुवै उम्मेदवारले आइतबार दोरम्बा सैलुङ गाउँपालिका–६ लखनपुरका मतदाताहरुसँग भेटघाट गरेका छन् । उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गरेका छन् । नेकपा एमाले रामेछाप प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा रामेछाप नगरपालिकाको विभिन्न वडाका मतदाताहरूसँगको भेटघाट गरेका छन् । आइतबार पौडेलले रामेछाप नगरपालिका वडा नं ८ र ९ मतदाताहरूसँग भेटघाट गरेका छन् ।