काठमाडौं । रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका नेताहरूले रामेछाप जिल्लाको योजनाबद्ध विकासको योजना आफूहरूसँग रहेको बताउनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल र प्रदेश सभा सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेल र मिलनकुमार घिसिङले रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको बताउनुभयो ।
रामेछाप काठमाडौं पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा उहाँहरूले रामेछाप विकासको मास्टर प्लान आफूहरूसँग रहेको बताउनुभयो । जिल्लाको योजनाबद्ध विकासको जग आफू जिल्ला विकास समितिको सभापति हुँदा बसाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । ढुङ्गेलले आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा जिलाको विकासमा धेरै काम गरेको उदाहरण पेश गर्नुभएको थियो ।
आफ्नो पालामा जिल्लामा ७० किलोमिटर सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । त्यस्तै पुल, कवर्ड हल, चिस्यान केन्द्र, अस्पताल, विद्यालय, खानेपानी, कृषि लगायतका क्षेत्रमा काम भएको ढुङ्गेलले सुनाउनुभयो । आफूले सुरु गरेका कतिपय योजना गठबन्धनले काटिदिएको बताउँदै ती काम पूरा गर्न र विकासका नयाँ काम गर्न आफूले उम्मेदवारी दिएको ढुङ्गेलले बताउनुभयो ।
प्रदेश क का उम्मेदवार शान्तिप्रसाद पौडेलले रामेछापको योजनाबद्ध विकासको गुरुयोजना एमालेको जिल्ला विकास समिति बन्दा २०५४ सालबाट सुरु भएको बताउनुभयो । विधिको शासन, सुशासन र जनमैत्री कानुन निर्माणको लागि आफू प्रदेश सभामा जान लागेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले आफ्नो सामाजिक क्षेत्रको अनुभव राजनीतिक क्षेत्रमा मिसाएर नागरिकको सेवा गर्न निर्वाचन लड्न लागेको बताउनुभयो । आफू निर्वाचित भएपछि पछाडि पारिएका समुदायको हितमा सधैँ काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको एमाले उम्मेदवारको दाबी
- प्रकाशित मिति: मंगलबार, कार्तिक ८ २०७९
- तामाकोशी