रामेछाप । नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले समृद्ध रामेछाप र सुखी रामेछापेली बनाउने स्पष्ट खाका नेकपा एमालेसँग मात्रै रहेको बताउनुभएको छ । नेकपा एमाले दोरम्बा सैलुङ गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौँमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा बोल्दै ढुङ्गेलले यस्तो बताउनुभएको हो । सडक, कृषि, खानेपानी, सिँचाइ खेलकुदमा आवश्यक विकास गरी उत्पादन मूलक क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरण गरी समृद्ध रामेछाप बनाउने दरिलो खाका एमालेसँग रहेको उहाँले बताउनुभयो । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका ढुङ्गेलले गठबन्धनका उम्मेदवारसँग हेलिकप्टरमा घुमाउने र भोट माग्ने बाहेक रामेछाप बनाउने कुनै खाका नभएको उहाँले बताउनुभयो । एमाले सरकारमा हुँदा रामेछापमा कृषि उपजको भण्डारण गर्न चिस्यान केन्द्र, युवाहरूका खेल मैदान र कवर्डहल, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि गुम्बा तथा मठ मन्दिर निर्माण एवं व्यवस्था जस्ता कामहरू धेरै गरेको उहाँले बताउनुभयो । एमालेले एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणा पनि अगाडी सारेको उहाँले बताउनुभयो । लोकतन्त्र, न्यायको, स्वतन्त्रता र सुशासनका पक्षमा आफ्नो उम्मेदवारी रहेकाले रामेछापका जनताले आफूलाई मत दिने उहाँको विश्वास छ ।
समृद्ध रामेछाप र सुखी रामेछापेली बनाउने स्पष्ट खाका एमालेसँग मात्रै छ : कैलाश ढुङ्गेल
- प्रकाशित मिति: शनिबार, कार्तिक ५ २०७९
- तामाकोशी