रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब ३१ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । चुनावी अभियानका क्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल र प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले बिहीबार रामेछाप नगरपालिका वडा नं ३ साँघुटार र वडा नं ४ हिमगंगामा पुग्नुभएको छ । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठ सहित हिमगंगा पुगेको दुवै उम्मेदवारहरूले साँघुटार र हिमगंगाका मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । उम्मेदवारहरूले मतदातालाई आफ्नो एजेन्डा र प्रतिबद्धता सम्झाउँदै मतदातहरुको सुझाव लिनुभएको छ । दुवै उम्मेदवारहरूले साँघुटार र हिमगंगाका मतदाताहरूलाई जनताले चाहेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रस्ट मिसन र भिजन एकलेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई जिताउन मतदान गर्न आग्रह गर्नुभएको छ ।
