गठबन्धन अहिले पैसाको पोको बोकेर हिँडिरहेको छ : कैलाश ढुङ्गेल

  • प्रकाशित मिति: बुधबार, कार्तिक २ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश प्रसाद ढुङ्गेलले काँग्रेस, माओवादी लगायतको गठबन्धन अहिले पैसाको पोको बोकेर हिँडिरहेको बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको भेलालाई सम्बोधन गर्नुहुँदै ढुङ्गेलले यस्तो बताउनुभएको हो ।
रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुङ्गेलले रामेछापका जनतालाई हरियो घाँस देखाउँदा पछि लाग्ने बाख्रा जस्तो ठानेर गठबन्धनका उम्मेदवार पैसाको पोका बोकेर हिँडिरहेको बताउनुभयो । अहिलेको सत्तारुढ गठबन्धन प्रहरी प्रशासन, कर्मचारी सेटिङ र पैसा प्रयोग गरेर एमालेका विरुद्धमा रहेकाले यसको विरुद्धमा उत्रन नेता कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो । पार्टीमा कुनै गुनासा भए मङ्सिर ४ पछि छलफल गर्न सकिने भएकाले अहिलेको यो निर्वाचन युद्धमा सबै कुराहरूलाई छाडेर एक भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रस्ट मिसन र भिजन एकलेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै समस्या नरहेको उहाँले बताउनुभयो । दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा वडाका नागरिकलाई भेट्ने गरी आफूले योजना बनाएकाले उहाँले बताउनुभयो ।