रामेछाप । आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका पवन कठायत उच्च अदालतबाट धरौटीमा छुटेपछि आक्रोशित बनेकी बिनु यादवले मन्थली पुगेर कठायत परिवारमाथि हातपात गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद ढकालले हातपात भएको खबर आएपछि प्रहरी गएको र बिनु बहोस् हुन लागेको अवस्थामा प्रहरीले मन्थली अस्पतालमा उपचारका लागि पुर्याएर प्रहरी फर्किएको जानकारी दिए । मन्थलीका प्रदीप कठायतको परिवारले अदालतबाट जबरजस्ती सम्बन्ध विच्छेद गराएको भन्दै अदालत परिसरमै विष पिएको भनेर चर्चामा आएकी बिनुले प्रदीपका काका पवनविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा पठाएका पवनलाई बिहीबार उच्च अदालत पाटनले २ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतमै आक्रोशित बनेकी बिनु शुक्रवार मन्थली बसपार्कस्थित प्रदीपको घरमा पुगेर हातपात र तोडफोडमा उत्रिएको भन्दै कठायत परिवारले मन्थलीमा पत्रकार सम्मेलन गरी सुरक्षाको माग गरेका छन् । बिनुले छोरा पर्दिपलाई दुई थप्पड हानेको र आफू लगायत र छोरी प्रविना कठायत समेतलाई हातपात गरेको प्रदीपकी आमा तारा कठायतले पत्रकार सम्मेलनमा बताइन् । बिनुको आक्रमणबाट आफ्नो पोते चुँडिएको र छोरी प्रविनाको आँखामा चोट लागेको उनले बताइन् । पसलभित्रै हातपातमा उत्रिएपछि छिमेकीले प्रहरी बोलाएको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा प्रदीप कठायतले बिनु यादवका कारण समाजमा मानव भएर बाच्न समेत सिङ्गो परिवारलाई नै समस्या भएको बताए । आफ्नो परिवारका विभिन्न सदस्यहरूमाथि बिनुले हुनै नसक्ने झुटा आरोपहरू लगाएर मिडिया बाजी गरेको उनको भनाइ छ । प्रदीपका बुबा विमल कठायतले बिनुले आफ्नो परिवारमाथि हुनै सक्ने एकपछि अर्को आरोपहरू लगाउँदै गएको र त्यस्ता आरोपहरूलाई मिडिया बाजि गर्दा सिङ्गो परिवारलाई नै समाजमा जिउन समस्या बताउँदै आफ्नो परिवारका लागि न्याय मरिसकेको अनुभव भएको बताए ।
बिनुले आफ्नो परिवारका विभिन्न सदस्यहरूलाई पहिले देखिनै परिवार नै सिद्ध्याइदिन्छु भन्ने जस्ता विभिन्न चेतावनीहरू दिने गरेको र शुक्रवार दिउँसो परिवारमाथि पसलमै गएर साङ्घातिक आक्रमण भएकाले आफू लगायत परिवारका सदस्यहरूको जिउज्यानको सुरक्षाको माग समेत गरे ।
प्रदीपसँगको प्रेम सम्बन्धपछि मन्थली पुगेर उनकै घरमा बसेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छन् । जिल्ला अदालत रामेछापबाट उनीहरूको सम्बन्ध विच्छेद्य भइसकेको छ । तर उनले त्यसलाई स्वीकार गरेकी छैनन् । आफूहरूलाई दुःख दिने र पारिवारिक प्रतिष्ठा सिद्ध्याउने उद्देश्यले निर्दोष काकामाथि जबरजस्ती करणी उद्योगको जाहेरी दिएको आरोप प्रदीपको छ । यता बिनु यादवले भने आफूलाई प्रदीपले बोलाएर आफू मन्थली आएको बताइन् । प्रदिपले मन्थली आउनु भनेर बोलाएको र मन्थली आइसकेपछि मोबाइल समेत ब्लक लिस्टमा राखेको उनको आरोप छ ।