चमेली विक
रामेछाप । रामेछापमा घर भित्र छिरेको निहुँमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिनेलाई साढे ४ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत रामेछापले मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षका शेरबहादुर नगरकोटीलाई दोषी ठहर गरी जातीय छुवाछूत तथा भेदभावमा एक वर्ष र शरीर बन्धक मुद्दामा साढे तीन वर्षको सजाय सुनाएको हो । मुद्दाका प्रतिवादी नगरकोटीलाई जातीय छुवाछूत तथा भेदभाव विरुद्धको कसूर मुद्दामा एक वर्ष, शरीर बन्धक मुद्दामा साढे तीन वर्ष कैद र उनकी श्रीमती बालकुमारी नगरकोटीलाई पनि जातीय छुवाछूत तथा भेदभावमा तीन महिना कैद सजाय तोकिएको जिल्ला अदालत रामेछापका स्रेस्तेदार रामप्रसाद पौडेलले बताउनुभयो । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन, २०६८ लागू भएको ११ वर्षपछि पहिलो पटक जातीय छुवाछुत गर्नेमाथी एक वर्ष कैद सजाय तोकिएको हो । नगरकोटी दम्पतीबाट संयुक्त रुपमा ७० हजार रुपियाँ क्षतिपुर्ती भराइ ७५ हजार रुपियाँ जरिवानाको फैसला भएको स्रेस्तेदार पौडेलले बताउनुभयो । उहाँका अनुसार जातीय छूवाछूत तथा भेदभाव सम्बन्धी कसूर मुद्दाको प्रतिवादी नगरकोटीका छोरा रोशन नगरकोटीले भने सफाइ पाएका छन् । आफूहरूको पक्षमा फैसला गरेर अदालतले न्याय दिएको पीडित बालिकाकी ठुलो बुबा सार्की नेपालीले बताउनुभयो । ‘घरभित्र छिरेको भन्दै छिमेकी शेरबहादुर नगरकोटीले नाम्लोको डोरीले बाँधेर २१ घण्टासम्म यातना दिएका थिए, ढिलै भएपनि अदालतले हाम्रो पक्षमा फैसला गरेको छ, यो फैसलाले हामी जस्ताका लागि पनि कानुन अनि न्याय छ भन्ने महसुस भएको छ’, उहाँले भन्नुभयो । नगरकोटीले २०७८ फागुन ३० गते सोमबार गैरदलित समुदायको घर भित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिएका थिए । दलित भएर घरभित्र छिरेको भन्दै नगरकोटी परिवारले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएका थिए । त्यसपछि पीडित बालिकाको परिवारले २०७८ चैत २ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा जातीय छुवाछूत तथा भेदभाव र शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गराएका थिए । २०७८ चैत २ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा जातीय छुवाछूत तथा भेदभाव र शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गराएका थिए ।