पुनरावेदन फैसलाको पर्खाइमा रामेछापका भूकम्प पीडित

  • प्रकाशित मिति: सोमबार, भाद्र २० २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका ८४ वर्षका लालबहादुर श्रेष्ठको भूकम्पले भत्किएको घर अझै बनेको छैन । २०७२ साल बैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पनले श्रेष्ठको घर बस्नै नहुनेगरी भत्किएको छ । तर श्रेष्ठको घर अझै भूकम्पपछि पुननिर्माणको लाग्राही सूचिमा परेको छैन । ‘गाउँका सबैको घर बनिसके, मेरो घर अझै लाभग्राही सूचिमा परेको छैन, घर लाभग्राहीमा आउँछकी भनेर पुनरावेदन पनि गरँे तर त्यसको फैसला अझै भएको छैन,’ उहाँले भन्नुभयो । सरकारले भूकम्पपछि गरेको पहिलो सर्वेक्षणमा प्राविधिकको लापरबाहीले आफ्नो घर छुटेको उहाँको गुनासो छ । श्रेष्ठ अहिले भत्किएको घरलाई नयाँ बनाएर बस्ने रहरलाई साध्दै लाभग्राही दिएको पुनरावेदनको फैसल्लाको प्रतिक्षामा हुनुहुन्छ ।
मन्थली नगरपालिका–८ चिसापानीका ८४ वर्षका श्रेष्ठको जस्तै मन्थली नगरपालिका–१४ फुलासी स्थित विमिरेका ५० वर्षका दिलबहादुर थापाको घर पनि लाभग्राही सूचिमा परेको छैन । उहाँले पनि आफ्नो भत्किएको घर पुननिर्माणका लागि नेपाल सरसकारले तयार पारेको नीति नियम अनुसार सबै काम गरिसक्नुभयो । तर अझै उहाँको नाम लाभग्राही सूचिमा परेको छैन । ‘भूकम्पले घर भत्काएको ७ वर्ष भैसक्यो, अहिलेसम्म लाभग्राहीको सूचिमा नाम छैन, मेरो घर भत्किएको छ, म वास्तविक पीडित हुँ भनेर गर्ने जति सबै गरिसके, लाभग्राही कायम गरि पाउँ भनेर पुनरावेदन पनि गरिसके तर केही लागेन,’ उहाँले भन्नुभयो ।
मन्थली नगरपालिका–८ चिसापानीका लालबहादुर श्रेष्ठ र वडा नं १४ का दिलबहादुर थापा जस्तै रामेछापका धेरै वास्तविक भूकम्प पीडितहरु अझै लाभग्राही कायम भएका छैनन् । प्राविधिकको कमजोरी लगायतका कारणले मन्थली नगरपालिकाका धेरै वास्तविक भूकम्प पीडितहरु लाभग्राही सूचिमा कायम नभएको मन्थली नगरपालिका प्रमुख लबकुमार श्रेष्ठ बताउनुहुन्छ । ‘भूकम्पपछि पहिलो चरणमा गरिएको सर्वेक्षणमा धेरै वास्तविक भूकम्प पीडितहरु छुटेका छन्, पहिलो चरणमा छुटेकाहरु मध्ये धेरैको अझै लाभग्राही कायम भएको छैन, अहिले मन्थली नगरपालिका ६१० जना पीडितहरुले पुनरावेदन गरेका छन्, उनीहरु आफ्नो पक्षमा फैसला आउने र नयाँ घर निर्माण गर्ने आसमा छन््,’ उहाँले भन्नुभयो । भूकम्पपछिको पुननिर्माणका लागि सरकारको नीति कार्यान्वयन समस्या हुदा वास्तविक पीडितहरु छुटेको उहाँको भनाइ छ । लाभग्रही सूचिमा समावेश नभएका रामेछापका पाँच हजार ९२८ जना भूकम्प पीडितले लाभग्राही कायम गरीपाउँ भनेर पुनरावेदन गरेको सघन सहरी तथा भवन निर्माण आयोजना रामछापका इन्जिनियर प्रदिप कुवरले बताउनुभयो । ‘पाँच हजार ९२८ पुनरावेदन मध्ये अहिलेसम्म तीन हजार ५९० वटाको फैसला भएकोमा १९२ जना लाभग्राही सूचिकृत भएका छन्, दुई हजार ३३८ पुनारावेदनको फैसला हुन बाँकी नै छ,’ उहाँले भन्नुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना जिल्लामा हालसम्म भूकम्पले भत्किएका झण्डै ४६ हजार निजी घर बनेका छन् । भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५८ हजार १२८ निजि घर पूर्ण रुपमा क्षति भएका थिए ।