अनुसन्धानमा सघाउन भन्दै मन्थलीका व्यवसायी कठायत प्रहरीमा हाजिर

  • प्रकाशित मिति: बुधबार, भाद्र १ २०७९
  • तामाकोशी

रामेछाप । भतिजी बुहारी नाता पर्ने विनु यादवले जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएपछि मन्थलीका व्यवसायी पवन कठायत आफैं जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन् । पारिवारिक प्रतिष्ठा सिध्याउने उद्देश्यले नियतबस आफूमाथि जबरजस्ती करणी उद्योगको आरोप लगाएको भन्दै उनले विनुको आरोप अस्वीकार गरेका छन् । तर, अनुसन्धानमा सघाउन भन्दै बुधबार उनी आफैं जिल्ला प्रहरी कार्यालय मन्थलीमा हाजिर भएको प्रहरीले जनाएको छ । रामेछाप नगरपालिका– १ गोठाउँका कठायतविरुद्ध परेको जाहेरीबमोजिम सो अभियोगजन्य कसूर गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनका भतिज प्रदीप कठायतले बिहे गरेर पनि आफूमाथि हिंसा गरेको र गुमराहमा राखेर सम्बन्ध विच्छेद गराएको आरोप विनुले लगाएकी छन् । उनले जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको मुद्दा सदर गरेपछि अदालतमै विष सेवनसमेत गरेकी थिइन् । आफू र आफ्नो परिवारप्रति मिडिया प्रयोग गरेर अत्याचार गरिएको भन्दै कठायतले कुनै गल्ति नगरेकाले प्रहरीको अनुसन्धानलाई सघाउन आफैं हाजिर भएको प्रतिक्रिया दिए ।

साभार :nepalpress.com