रामेछाप । देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी । नेपाल र अङ्ग्रेज युद्धको बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोको रुपमा प्रयोग गरेको स्थानीयहरु बताउँछन् । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरु रहेकाले चिसापनाी गढी महत्वपूर्ण रहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार अङ्ग्रेजसँगको युद्धका क्रममा नेपालका सेनाहरुलाई चिसापनीगढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको थियो । जिल्लाकै ऐतिहासिक र छुट्टै पहिचान अनि महत्व बोकेको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको यो गढी अहिले आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । गढी संरक्षणका लागि बागमती प्रदेश तथा स्थानीय सरकारले विभिन्न संरचनाहरु निर्माण गरेको छ । यो गढीमा आकर्षक सिँढी सहितको पैदलमार्ग निर्माण गरिएको छ भने गढीमा निर्माण गरिएको सिद्धबाबाको मन्दिरले झनै आकर्षक बनाएको छ ।
पछिल्लो सयम चिसापानी गाढी घुम्ने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको स्थानीय भुवनकुमार श्रेष्ठले बताउनुभयो । यहाँ निर्माण गरिएका आकर्षक सिँढी सहितको पैदलमार्ग, मन्दिर तथा अन्य संरचनाहरुको अवलोकन भ्रमण गर्नेको सङ्ख्या बढ्दो मात्रामा छ, यो गढी संरक्षण र आवश्यक प्रचारप्रसारको अभावले अझै ओझेलमै छ उहाँले भन्नुभयो । बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाले चिसापनीगढीमा ६०० मिटरभन्दा बढी लम्बाईको आकर्षक सिँढी सहितको पैदलमार्ग निर्माण गरेको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । नेपाल र अङ्ग्रेज युद्धमा सेनालाई चिसापनीगढीमा तालिम दिएको बुढापाकाहरु बताउँछन्, यहाँ युद्धका भग्नावशेष र केही चिनोहरु पनि छन्, यसको संरक्षणमा स्थानीय सरकार लागिपरेको छ उहाँले भन्नुभयो । चिसापनीगढीमा बागमती प्रदेश सरकारको ६० लाख रुपियाँ र वडा कार्यालयको तीनलाख रुपियाँ लगानीमा ६०० मिटर भन्दा बढी लम्बाइको ४६५ वटा सिँढी सहितको पैदलमार्ग र एउटा मन्दिर निर्माण गरिएको उहाँको भनाइ छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार चिसापनी गढीमा निर्माण भएको सिद्धबाबाको मन्दिर लगायतका संरचनामा आवश्क बत्तिका लागि सोलार राखिएको छ ।
रोजाइमा रामेछापको चिसापानीगढी
- प्रकाशित मिति: मंगलबार, साउन २४ २०७९
- तामाकोशी