कर्मचारीको लापरबाहीले ७१ वर्षीया वृद्धा मासिक २६ सय ६० मात्रै भत्ता बुझ्न बाध्य

  • प्रकाशित मिति: सोमबार, साउन १६ २०७९
  • तामाकोशी

नवराज विक,
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका कर्मचारीको लापरबाहीको कारण ७१ वर्षीया एक वृद्धा मासिक दुई हजार ६ सय ६० रुपैयाँ भत्ता बुझ्न बाध्य भएकी छिन् । सरकारले ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति र लोपोन्मुख जातिका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएका छ । तर, दलित समुदायका व्यक्तिको हकमा भने ६० वर्षदेखि सामाजिक सुरक्षा भत्ता सरकारले प्रदान गर्दै आएको थियो भने अन्यको हकमा ७० वर्ष पुगेपछि मात्रै ज्येष्ठ नागरिक भत्ता दिने गरेको थियो । यस आर्थिक वर्ष २०७९÷०८० को यही साउन महिनादेखि अन्य जातिका व्यक्तिको हकमा पनि ६८ वर्ष उमेर पुगेपछि भत्ता दिने व्यवस्था गरिसकेको छ । उक्त व्यवस्था आगामी भदौँ महिनाबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने छ । सामाजिक सुरक्षा भत्ता ऐन, २०७५ को परिच्छेद(३ दफा २१ (ङ) मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अधिकारीले गलत विवरण पेश गरेमा वा गलत सिफारिस गरेमा त्यस्तो अधिकारीलाई सजाय हुने व्यवस्था छ ।
तर, कर्मचारीले मन्थली नगरपालिका वडा नं. ९ पुरागाउँ बाङ्गेसल्लाकी ७१ वर्षीया टिका माया सुनेलको नागरिकता बमोजिमको विवरण लापरबाही रुपमा अपडेट गरिँदा आफूले पाउनुपर्ने भत्ता बापतको रकम पाउनबाट वञ्चित भएकी हुन् । विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष पुगेका महिला, ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका व्यक्तिलाई सरकारले पहिले वितरण गर्दै आएको दुई हजार रुपैयाँमा ३३ प्रतिशका दरले वृद्धि गरी अहिले २ हजार ६ सय ६० रुपैयाँ प्रदान गर्दै आएको छ । यस्तै, गत वर्ष २०७८ साल असार २२ गतेदेखि ७० वर्ष पुगेकी टिकामा सुनेलले गत वर्षको साउन महिनादेखि ज्येष्ठ नागरिक भत्ताबापतको रकम ३ हजार ९ सय ९० रुपैयाँ पाउनु पर्ने हो । ६० वर्षदेखि भत्ता लिएका लक्षित समुहका व्यक्तिको हकमा ७० वर्ष कटेपछि सफ्वयरले स्वतः ज्येष्ठ नागरिकको सूचीमा कन्भर्ट गर्न सम्बन्धित फाँटका अधिकारीले बताएका छन् । तर, मन्थली नगरपालिकाको सम्बन्धित फाँटका कर्मचारीले नागरिकता बमोजिमको विवरण सफ्टवयरमा अपडेट नगरिदिँदा ७१ वर्षीया टिकामाया सुनेल अहिले मासिक २ हजार ६ सय ६० रुपैयाँ मात्रै बुझ्न बाध्य भएकी हुन् ।
२००८ साल असार ३ गते दोलखामा जन्मनु भएकी सुनेल विवाह गरी वाङ्गेसल्लाह आउनु भएको थियो । गत वर्ष २०७८ असार ३ गतेदेखि ७० वर्ष पुगेकी सुनेलले गत साउन महिनादेखि ४ हजार रुपैयाँ पाउनुपर्नेमा अहिले विधवा भत्ता बापतको रकम मासिक २ हजार ६ सय रुपैयाँका दरले बुझ्दै आएको बताइन् । आफूले गत वर्ष असोजमा भत्ता लिन जाँदा मन्थली नगरपालिका वडा नं. ९ मा कार्यरत तत्कालिन वडा सचिव रमा घिमिरेलाई म ७० वर्ष पुगिसके भत्ता कम आउँछ, नागरिकता अनुसार मेरो उमेर लेखाइदिनु भन्दा हुन्छ भनेको तर कहिल्यै नसच्याइदिएको, टिकामायाले गुनासो गरिन् । यस्तै गल्ती गरी आफूमाथि सम्बन्धित पालिकाका कर्मचारीले अन्याय गरिरहे कानूनी उपचार खोज्ने उनले बताइन् ।
त्यसपछि पनि भत्ता लिन जाँदा आफूले तत्कालिन वडा सचिव रमा घिमिरेलाई किन नसच्याइदिनु भएकोे भन्दा म बाहिर भ्रमणमा छु, नगरपालिकामा नागरिकता लिएर जानु अनि सच्याउन लगाउनु भनेपछि आफू नगरपालिका गएर नागरिकताको प्रतिलिपि छाडेर सच्यादिनु भनेर आएपनि अहिलेसम्म नसच्याइदिएको कारण राज्यले दिएको भत्ता बापतको रकम जति पाउनु पर्ने त्यति नपाएकोमा दुःख लागेको, टिकामायाले सुनाइन् । सामाजि सुरक्षा भत्ता लाभग्राहीको विवरण नगरपालिकाले नै इन्ट्री गर्ने बताउँदै तत्कालिन सचिव घिमिरेले आफूले नगरपालिकालाई सच्याइदिनु भने पनि नगरपालिकाले अटेर गरेको बताएकी थिइन् । नगरपालिकाले नगरेपछि आफ्नो केही नलाग्ने बताउँदै उनले फेरी नगरपालिकामा गएर सच्याउन लगाउन समेत पीडितलाई आग्रह गरेकी छिन् ।