रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १२ जनाको सनाखत

  • प्रकाशित मिति: मंगलबार, असार २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएका एक महिला र चार जना पुरुषको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परी २६ जना घाइते भएका थिए। दुर्घटनमा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो।ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।
मृत्यु भएका १२ जनाको सनाखत
बस दुर्घटनामा परी घटना स्थलमै मृत्यु हुने ९ सहित १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी सुनापति गाउँपालिका वडा नं ५ खनियापानीका ६० बर्षिय ठुला तामाङ, ३६ बर्षिय खड्क बहादुर विक, २२ बर्षिया बिपना तामाङ, ३६ बर्षिया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । त्यसैगरी सुनापति गाउँपालिका वडा नं ४ का २६ बर्षिया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ बर्षिय सुदिप गजमेर, काभ्रेका मन्दनदेउपुर नगरपालिका–९ का ६० बर्षिया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० बर्षिय कुल बहादुर बिक र काभ्रे रोशी गाउँपालिका–४ का कमल तामाङको सनाखत भएको छ । यसैगरी काभ्रेको पाँचखाल नगरपालिका–८ ४० बर्षिय कुलबहादुर विक, सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादुर श्रेष्ठ, बुद्ध तामाङ र वडा नं खुल्न बाँकी सुनापति गाउँपालिकाकै नेमा तामाङको सनाखत भएको छ । प्रहरीका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएको एक जनाको सनाखत हुन बाँकी छ ।