रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएका एक महिला र चार जना पुरुषको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परी २६ जना घाइते भएका थिए। दुर्घटनमा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो।ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।
घटना स्थलमै मृत्यु भएका ९ जनाको सनाखत
बस दुर्घटनामा परी घटना स्थलमै मृत्यु हुने ९ जनाको सनाखत भएको छ । दुर्घटनामा परी सुनापति गाउँपालिका वडा नं ५ खनियापानीका ६० बर्षिय ठुला तामाङ, ३६ बर्षिय खड्क बहादुर विक, २२ बर्षिया बिपना तामाङ, ३६ बर्षिया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । त्यसैगरी सुनापति गाउँपालिका वडा नं ४ का २६ बर्षिया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ बर्षिय सुदिप गजमेर, काभ्रेका मन्दनदेउपुर नगरपालिका–९ का ६० बर्षिया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० बर्षिय कुल बहादुर बिक र काभ्रे रोशी गाउँपालिका–४ का कमल तामाङको सनाखत भएको छ । सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जादै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा मंगलबार बिहान दुर्घटना हुदा ९ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी २६ जना घाइते भएका थिए । दुर्घटनमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो । प्रहरीका अनुसार धुलिखेल अस्पताल पठाइएको घाइते २३ जनामध्ये तीन जनाको पनि मृत्यु भएको छ । उनीहरुको सनाखत भएको छैन ।