रामेछाप । निर्माण ब्यवसायी सम्पर्कबिहीन भएपछि जिल्लाको सेलेघाट–रामेछाप–साँघुटार सडक अलपत्र अवस्थामा छ । भारतीय एक्जिम बैङ्कको सहयोगमा करिब डेढ वर्षदेखि कालोपत्रेका लागि सडक विस्तार सुरु गरिएको यो सडकमा बीचैमा काम छाडेर निर्माण ब्यवसायी हिडेपछि सर्बसाधारणको दैनिक जीवन नै कष्टकर बनेको छ ।
अलपत्र सडका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ भने ठाउँठाउँका बस्तीहरु र विद्यालय समेत जोखिममा परेका छन् । सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउराली स्थित खत्रीगाउँका ३० घर जोखिमा छन् ।
यो बस्तीको ३० भन्दा बढी घरहरु उच्च जोखिमा परेको छ, यही ताल हो भने अब यहाँ जन धनको ठुलो क्षति हुनेवाला छ स्थानीय भरत बहादुर बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार यो बस्ती भन्दा तल र माथिबाट पहिरो गैरहेको छ ।
मनलाग्दी रुपमा भत्काइएको सडले घर माथि र तलबाटै पहिरो जान सुरु भएकाले पानी परेको समयमा राति सुत्न समेत डरमर्नु भएको अर्का स्थानीय ७० वर्षीय कृष्णकुमारी खत्रीले बताउनुभयो ।
घरमाथिको सडकमा टन्न पानी जम्छ, जमेको पानी बाढी आए जस्तै गरी झर्छ, यस्तो अवस्थाको घरमा अब कसरी बस्नु, सरकारलाई जनताको समस्या बारेमा केही मतलब नै छैन उहाँले भन्नुभयो । डकको भित्ता काटेर अलपत्र अवस्थामा छाडिदिदा रामेछाप नगरपालिका वडा नं. २ देउरालीमा रहेको कालिकादेवि माध्यामिक विद्यालय समेत पहिरोको उच्च जोखिममा परेको सो विद्यालयका प्रधानाध्यापक ऋषि खड्काले बताउनुभयो ।
बीचमै काम छाडेर निर्माण ब्यवसायि सम्पर्कबिहीन बन्दा पनि जिल्लाका जिम्मेवार निकायलाई केही वास्ता छैन । सडकमा काम गर्ने मजदुरलाई समेत ज्याला नदिई निर्माण ब्यवसायि सम्पर्कबिहीन भएका छन् ।
कुल एक अर्ब ९४ करोड ७१ लाख रुपियाँमा काम सम्पन्न गर्ने गरि भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले सडक विस्तारको जिम्मा लिएको थियो । सडक निर्माण कार्यलाई निरन्तरता दिन, मजदुरहरुको ज्याल दिन, जेखिममा रहेको बस्ती तथा विद्यालयहरुको जिम्मेवार लिन भन्दै रामेछाप नगरपालिकाले निर्माण कम्पनी र सरोकारवाला निकायलाई पत्र काटिएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।
सडका कारण गाउँ बस्ती र विद्यालयहरु जोखिममा छन्, यसका कारण भोली कुनै जोखिमता आएको खण्डमा यसको पूर्ण जिम्मेवारी आयोजना आफैले लिनुपर्ने र मजदुरहरुलाई दिनुपर्ने ज्याला बापतको रकम तत्काल प्रदान गर्न भन्दै नगरपालिकाबाट पत्र काटेका छौँ उहाँले भन्नुभयो ।