रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले गाउँपालिकाले वास्तविक माटोमा खेल्ने समुदायलाई लक्षित गरी नीति, कार्यक्रम र बजेट बनाउने बताउनुभएको छ ।
सो गाउँपालिकामा बुधबार युएस्एडको आर्थिक सहयोग र एफ्एच्आई ३६० तथा दायित्व नेपालको सहकार्यमा सञ्चालित जनप्रशासन फेलोसिपको आयोजना र स्थानीय युवा र लिखु तामाकोसी गाउँपालिका बिचको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष महतले वर्षौँदेखि कृषिको कुरा गरे पनि कृषिमा काम गर्ने जनशक्तिको अभाव हुँदा कृषि उत्पादन बढ्न नसकेको बताउनुभयो । कृषिबाट वृत्ति विकास हुन्छ भन्ने विश्वास युवामा नभएकै कारण कृषिमा युवा जोडिन नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिनले समृद्ध पालिका बनाउने कुरा एक्लैले सम्भव नहुने बताउनुभयो । यसको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवा विकासको आधार भएकोले युवालाई लिएर अघि बढ्दा लक्षमा पुग्न सकिने पाख्रिनले बताउनुभयो । उहाँले आपसी सहयोग र सहकार्यमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उघु उद्यम विकास कार्यक्रम (मेड्पा)को प्रभावकारीता विषयक गरिएको अध्ययनको बारेमा जनप्रशासन फेलो युनिक विफा घिसिङले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सोहि प्रतिवेदनमाथि स्थानीय जनप्रतिनिधीहरुले आआफ्ना विचार राख्नुभएको थियो ।