सामाजिक र आर्थिक विकासमा जोड दिने नवनिर्वाचित जनप्रतिनिधिहरुको प्रतिबद्धता

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ८ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको सवै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालिसकेका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका प्रमुखहरुले आफ्नो कार्यभार सम्हाल्दै गर्दा विभिन्न प्रतिवद्धताहरु जनाएका छन् । अधिकांस पालिका प्रमुखहरुले आफ्नो पालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम भैसकेकाले अब सामाजिक र आर्थिक विकासका निम्ती काम गर्ने बताएका छन् । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाको विकासको लागि योजनाबद्ध रुपमा काम थाल्ने बताउनुभयो । विगतमा भएका कामको समिक्षा गरेर राम्रो कामलाई निरन्तरता दिने बताउदै योजना निर्माण गरेर मात्र काम अघि बढाउने उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले अब नागरिकको आर्थिक र सामाजिक विकासको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले दिर्घकालिन योजना बनाएर नगरको विकासमा लाग्ने बताउनुभयो । यसअघि निर्वाचित भएका जनप्रतिनिधिहरुे पनि नगरको विकासका लागि धेरै राम्रा काम गरेकाले त्यसलाई पनि निरनतरता दिएर काम गर्ने उहाँको भनाइ छ । नगरभित्र यसअघिका जनप्रतिनिधिहरुले भौतिक पूर्वाधार विकासका क्षेत्रमा काम गरेकाले यसलाई निरन्तरता दिदै अब नगरपालिकाको ध्यान आर्थिक र सामाजिक विकासमा जाने नगरप्रमुख न्यौपानेले बताउनुभयो । दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले आगामी पाँच बर्ष पालिकाको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । सबैको साथ र सहयोग लिएर पालिकाको विकास गर्ने उहाँको भनाइ छ । अघिल्लो सरकारले पालिकामा धेरै राम्रो काम गरेको र पालिकालाई समृद्ध बनाउन जग बसिसकेकाले अब समृद्ध पालिका निर्माणमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँपालिकाको सुक्खा क्षेत्रका जनताको प्यास मेटाउने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । गाउँपालिकाको धेरै क्षेत्र सुक्खा ग्रस्त भएकोले नदी र खोलाको पानी तानेर घर घरमा पानी पु¥याउने र सुक्खा पाखालाई हरियाली बनाउने बताउनुभयो । उहाँले सो गाउँपालिकामा अघिल्लो एमालेको कार्यकालमा धेरै पूर्वाधारका काम भएकाले त्यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले प्राविधिक शिक्षामा जोड दिने र शिक्षालाई व्यवहारसँग जोड्ने बताउनुभयो । उहाँले एमालेले जारी गरेको प्रतिबद्धता पत्रमा खाँडादेवीलाई कस्तो बनाउने भन्ने सपना देखेको बताउनुभयो ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले अघिल्लो कार्यकालमा भौतिक पुर्वाधारमा धेरै काम गरेको बताउँदै यस पटक भने आर्थिक विकासको लागि काम गर्ने बताउनुभयो । अघिल्लो कार्यकालयमा सडक लगायतका पुर्वाधारमा धेरै खर्च भएकोले अब तिनको व्यवस्थापन मात्र गर्ने उहाँले बताउनुभयो । अब नागरिकको आर्थिक विकासको लागि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जबसम्म आर्थिक रुपले नागरिक सम्पन्न हुँदैनन् तबसम्म अन्य पूर्वाधार त्यति कामयावि नहुने आफ्नो अनुभव उहाँले बताउनुभयो । दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् । काँग्रेसले एक नगर प्रमुख, एक नगर उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष र चार गाउँपालिका उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो । काँग्रेसले रामेछाप नगरपालिका प्रमुख र उपप्रमुख, गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । काँग्रेसले जिल्लाभर रहेको ६४ वडा अध्यक्ष मध्ये २४ वटा वडाको अध्यक्ष जितेको छ ।
२०७४ को निर्वाचनमा पाँच पालिका प्रमुख जितेको एमालेले यो पटक भने तीन पालिका मात्रै जितेको छ । एमालले गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ भने लिखुतामाकोसी गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको छ । एमालेले मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख, खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकाको अध्यक्ष र लिखुतामाकोसी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ६४ वडा मध्ये एमालेले २४ वटा वडाको वडा अध्यक्ष जितेको छ । अघिल्लो निर्वाचनमा दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रल यो निर्वाचनमा एक गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको दोरम्बा सैलुङ गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन हुँदा उपाध्यक्ष काँग्रेसको भागमा परेपछि माओवादी केन्द्र अघिल्लो निर्वाचनको भन्दा कम सिटमा खुम्चिएको छ । माओवादी केन्द्रले सुनापति गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्ष जितेको छ १५ वटा वडा अध्यक्ष जितेको छ ।