रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ गेलुमा नेकपा (एमाले)ले वडा कमिटीको अभियान चलाईरहेको समयमा निर्वाचित वडाध्यक्षले आ’तंक शैलीमा एमाले कार्यकर्तामाथि आ’क्रमणको प्रयास गरेको एमाले मन्थली नगर कमिटीले जनाएको छ ।
पार्टी परिचालन तथा संगठन सुद्धिकरण अभियान अन्तर्गत चलिरहेको कार्यक्रममा वडाध्यक्ष भीम बहादुर थापामगरको नेतृत्वको एक समूहले एमालेका स्थानीय नेता तथा कार्यकर्तामाथि आ’क्रमण प्रयास गरेको एमाले मन्थली नगर कमिटी सचिवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
‘२०७८/११/०८ गते दिउँसो नेकपा माओवादी केन्द्रका नेता एवम् निर्वाचित वडाध्यक्ष भीम बहादुर थापामगरको नेतृत्वमा पार्टीका स्थानीय कमिटीका नेता तथा कार्यकताहरुलाई आ’क्रमण प्रयास र अवरोध गरेको प्रति हाम्रो पार्टी नगर कमिटी घोर भत्र्सना एवम् निन्दा गर्दछ’ एमाले मन्थली नगर कमिटी सचिव राजु कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि राजनीतिक पार्टीलाई आफ्ना गतिविधि निर्वाध रुपमा संचालन गर्नुपर्ने संवैधानिक हक र अधिकार कुण्ठित गर्ने गरि आजको युगमा पनि निरङ्कुश शैली अपनाउने कसैलाई पनि छुट छैन ।’
एमाले मन्थली नगर कमिटीले शालिनतालाई कमजोरी ठानिए एमाले प्रतिवादमा उत्रिने चेतावनी दिँदै त्यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुने भन्दै सचेत गराएको छ ।