काठमाडौं । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालिन अबस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत स्क्यान गरि सजिलै नक्कलीरसक्कली छुट्याउन सक्ने बताउनुभयो । उहाँले एक बर्षे परिक्षणकालको अबधिमा पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लेघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको समेत जानकारी दिनुभयो ।
महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबोप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्समार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताउनुभयो ।
कसरी काम गर्छ त, एप्सले ?
बिशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।
ट्राफिक प्रहरीले ल्यायो नक्कली लाइसेन्स पत्ता लगाउने ‘एप’
- प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७८
- तामाकोशी