दुई वडाको सिमानामा भ्युटावर निर्माण

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका नगरपालिका वडा नं ६ र ७ को सिमाना भालुखोप डाँडामा भ्युटावर निर्माण गरिएको छ । नगरपालिकाको एक करोड ४१ लाख रुपियाँमा टिकट काउण्टर,चमेना गृह र शौचालय सहित सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरिएको हो । सो भ्युटावरको केही दिनअघि नगरपालिका प्रमुख नरबहादुर थापामगरले औपचारिक रुपमा उद्घाटन गरेसँगै भ्युटावर घुम्न आउने आन्तरिक पर्यटक बढेको स्थानीय गङ्गा बहादुर तामाङले बताउनुभयो । रामेछाप जिल्लाकै पर्यटकीय सम्भावना बोकेको भालुखोप डाँडामा धेरै मानिसहरु घुम्न आउछन्, भ्युटावर बनेपछि घुम्न आउने मानिसहरुको चहलपह झनै बढेको उहाँले बताउनुभयो । भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढुङ्गाका विभिन्न भूभागहरुको दृश्यावलोकन गर्न सकिन्छ । दुई वडाको सिमानामा ६० फिट अग्लो चार तले भ्युटावर निर्माण भएपछि नगरपालिका सहित जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकाससँगै जिल्लाकै आर्थिक वृद्धिमा सहयोग पुगेको वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समीर कार्कीले बताउनुभयो ।