रामेछाप । जिल्लाको सुनापति गाउँपालिकामा डम्फु पार्क निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं ४ बेथान र वडा नं ३ हिलेदेवीको संगमस्थल सेल्फी डाँडामा डम्फु पार्क निर्माण गरिएको हो । वडा नं ३ हिलेदेवी वडा कार्यालयले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रुपमा परिचत बन्दै गएको वडा नं ३ का वडा अध्यक्ष बाबुराम तामाङले बताउनुभयो ।
लुभु–बेथान– हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो फिच्ने आन्तरिक पर्यटकहरुको बढ्दो छ, यो पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यभित्रको एक हो वडाध्यक्ष तामाङले भन्नुभयो । वडा कार्यालयको २२ लाख रुपियाँ भन्दा बढी बजेटमा निर्माण गरिएको डम्फु पार्कमा ठुलो र आकर्षक डम्फु र टुङना राखिएको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
वडा अध्यक्ष तामाङका अनुसार डम्फु पार्कबाट पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्र हिमाल लगायतको क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सेल्फी डाँडाको रुपमा चिनिदै आएपछि वडा कार्यालयले तामाङ जातिको संस्कृति झल्किने गरी डम्फु पार्क निर्माण गरेको वडाध्यक्ष तामाङको भनाइ छ । दुई चरणमा गरेर गाउँपालिकाबाट प्राप्त बजेटबाट पार्कको निर्माण र सौन्दर्यकरण गरिएको वडा कार्यालयले जनाएको छ । सुनापति गाउँपालिकामा ६४ प्रतिशत भन्दा बढी जनजाति समुदायको बसोबास छ । त्यसमा पनि सवैभन्दा बढी तामाङ समुदायको बसोबास छ ।
सुनापति गाउँपालिकामा डम्फु पार्क निर्माण
- प्रकाशित मिति: सोमबार, माघ २४ २०७८
- तामाकोशी