रामेछाप । पुस २४ गते शनिबार जिल्लाको लिखुतामाकोसी गाउँपालिकामा श्रीमानको जुठो बारेर बसेकी एक महिलामाथि बलात्कारको प्रयास गर्ने एकजना पक्राउ परे । श्रीमान गुमाएको पीडा सहित जुठो बारेर बसेकी महिलामाथि घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीले सोही गाउँपालिकाका ५० बर्षिय सिङ्गबहादुर कामीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विकलाई छ दिनको म्याद थप गरेर जबरजस्ती करणी उद्योग अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
यो घटना भएको एकदिनपछि पुस २५ गते आइतबार आफैले पढाएको विद्यार्थीलाइ कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परे । पीडित बालिकाले दिएको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं ११ स्थित शारदा माध्यमिक विद्यालय गेलु सावाडाँडामा कार्यरत शिक्षक निनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षक गुप्ताले विद्यालयको बाटो हुँदै घर आउने क्रममा उत्तर पुस्तिका जाँच भइसकेको र हेर्न जाउ भनेर आफू बस्ने कोठामा लगेर बलात्कार प्रयास गरेको पीडित बालिकाले प्रहरी समक्ष उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारले दिएको उजुरीको आधारमा प्रदेश २ अन्तर्गत सप्तरी जिल्ला बलान बेहोल गाउँपालिका वडा नं २ स्थायी घर भएका शिक्षक गुप्तालाई पक्राउ गरी बाल यौन दुरुपयोग गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भैरहेको छ ।
जिल्लामा पछिल्लो समय यौनिक हिंसाका घटा बढ्दै गएको छ । यस्ता घटनाबाट बालिकादेखि बृद्धासम्म पीडित बनिरहेका छन् । चालु आर्थिक वर्षको हालसम्म १४ वटा भन्दा बढी यौनिक हिंसाका घटना जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका छन् । जसमा ९ वटा बलात्कारका घटना भएका छन् भने पाँचवटा बलात्कार प्रयासका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी जायव उपरीक्षक नवराज ढुङ्गानाले समाजमा हुने अपराध रोकथाम र नियन्त्रणमा नागरिकको समेत दायित्व रहेकाले समयमा नै सूचना दिएर प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो
रामेछापमा यौनिक हिंसाका घटना बढ्दै
- प्रकाशित मिति: मंगलबार, पुष २७ २०७८
- तामाकोशी