रामेछाप । जिल्ला अस्पताल रामेछापलाई नमूना बनाएर अस्पताल विकास समितिको अध्यक्षबाट रोशन पाख्रिनले विश्राम लिनु भएको छ। पाख्रिनले तीन बर्ष अध्यक्षको रुपमा काम गर्दै मंगलबार राजिनामा घोषणा गरी विश्राम लिनु भएको हो।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय समक्ष अस्पताल रामेछापका प्रमुख डा. पवन शाक्य मार्फत राजिनामा पत्र पठाएका छन् । पाख्रिनले आफ्नो कार्यकालमा अस्पतालको विकास,विस्तार र नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउन सक्दो काम गरेको पत्रकार भेटघाटमा बताउनु भयो । पाख्रिन २०७५ कातिक २८ गते अस्पताल विकास समितिको अध्यक्षमा दोस्रो कार्यकालको रुपमा नियुक्त भएका थिए ।
यी हुन पाख्रिनको कार्यकालमा भएका १६ कामहरुः
१) जर्मनी सरकारको सहयोगमा निर्णाण गरिएको अत्याधुनिक भवनबाट अस्पतालको सेवाहरु प्रवाह,
२) जिल्ला अस्पतालमा हाल जिल्लामै शल्यक्रिया तथा आकस्मिक प्रसुति शल्यक्रिया सेवा सञ्चलान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं र रामेछाप नगरपालिकाको सहयोगमा विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह,
३) वागमती प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट निर्माण भएको,
४) वागमती प्रदेश सरकारको सहयोगमा पिसिआर ल्याप सञ्चालन,
५) पिक भ्यान गाडि व्यवस्थापन,
६) कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न ३० वेडको आइसुलेसन सञ्चालन तथा व्यवस्थापन,
७) २ वेड सहितको कोभिड–१९ इमर्जेन्सी सञ्चालन,
८) दैनिक एन्टिजेन परीक्षण र स्वाब परीक्षण,
९) नयाँ मेसिन औजार उपकरणहरु खरिद तथा प्राप्त,
१०) ई हाजिरी, अस्पतालको वेवसाइट निर्माण, ई विलिङको व्यवस्था,
११) रामेछाप नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी आँखा उपचार सेवा सुरु भएको,
१२) सामाजिक विकास मन्त्रालय वागमति प्रदेश सरकारसँग समन्वय गरी दन्त चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन गरेको,
१३) प्रयोगशाला सेवामा परीक्षणको संख्याहरु थप गरि सञ्चालन गरेको,
१४) जिल्ला अस्पतालको ५ वर्षे गुरु योजना निर्माण कार्य प्रारम्भ गरेको,
१५) कोभिड–१९ व्यवस्थापन गर्न विभिन्न निकायहरुसँग समन्वय गरी ७४ वटा ठूलो अक्सिजन सिलिण्डर र अन्य सामग्रीहरु सहयोग ,
१६) ५० वेड अस्पताल स्वीकृतको लागि प्रदेश सरकारसँग समन्वय ।