भूजीमा साँढे तीन किलोमिटर पदमार्ग बन्दै

  • प्रकाशित मिति: आइतबार, पुष ११ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकासका काम गरिरहेको छ । गाउँपालिकाले वडा नं–७ भूजीमा पदमार्ग निर्माणको काम सुरु गरेको छ । साँढे तीन किलोमिटर लामो सो पदमार्गलाई लिखु खोला–थुन्देल–पोल्दिन–रामजीथान पर्यटकीय पदमार्गको नाम दिइएको छ । लिखु खोलामा अहिले ६ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजना हेर्न जाने मानिसहरूलाई लक्षित गरी गाउँपालिकाले पदमार्ग निर्माणको काम अघि बढाएको हो । दुई वर्ष अघि डीपीआर सम्पन्न गरी गत वर्षबाट काम सुरु गरिएको सो पदमार्ग अन्तर्गत साँढे एक किलोमिटर क्षेत्रमा सिँढी राख्ने काम सम्पन्न भएको उमाकुण्ड–७ भूजीका वडाध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो । खोलाको किनारदेखि डाँडाको टुप्पोसम्म सिँढी राखेर पदमार्ग निर्माण गरिने छ । सो पदमार्गको ठाउँ ठाउँमा विश्राम स्थल राखिने छ भने साना साना पार्क समेत बनाइने छ । सिँढीमा तलदेखि माथिसम्म रेलिङ राखिने भएको छ । खोलाबाट सिँढी चढेर डाँडाको टुप्पामा पुगेपछि रामजीथान पुगिने छ । सो स्थानमा पुरानो ऐतिहासिक रामजीको प्रतिमा रहेको छ । मन्दिर क्षेत्रलाई समेत पुनर्निर्माण गरी सो क्षेत्रलाई धार्मिक पर्यटकीय पदमार्गको रूपमा विकास गरिने वडाध्यक्ष नेवारले बताउनुभयो ।