रामेछाप । जिल्लामा सचेतना र्यालीबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा बिहीबार सदरमुकाम मन्थलीमा हिंसा विरुद्धका विभिन्न प्लेकार्ड सहित सचेतना र्याली गरिएको हो ।
र्यालीमा जनप्रतिनिधि, कर्मचारी, महिला, अधिकारकर्मी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । र्यालीपछि देबकोटा चोकमा आयोजित कोण सभामा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले हिंसाका घटना घरभित्रैबाट हुने भएकाले यसको अन्त्य पनि घरभित्र बाटै गर्नु पर्नेमा जोड दिनुभयो ।
बस्नेतले नगरपालिकाले १६ दिनसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको बताउँदै हिंसा विरुद्धको कार्यक्रममा सहभागिता जनाउन नागरिकलाई आग्रह गर्नुभयो । यो वर्ष मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले त्यसका लागि आवश्यक तयारी भैरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले हिंसाका घटना सहेर नबस्न सवैलाई आग्रह गर्नुभयो । जनसंख्याको ५० प्रतशित रहेको महिला अहिले पनि हिंसामा पर्नु भनेको अत्यन्तै दुखद भएको उहाँको भनाई छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले मङ्सिर १० गते टोल सुधार समितिलाई लैङ्गिक हिंसा विरुद्धको सचेतना कक्षा सञ्चालन गर्ने, मङ्सिर १२, १३ र २१ गते विभिन्न वडामा किशोरीका लागि लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, १५ गते एड्स विरुद्धको दिवस, १९ गते स्वास्थ्य स्वमसेवीका दिवस र २० गते पाठेघर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यस्तै मङ्सिर १७ गते नगरपालिकासँगको सहकार्यमा अपाङ्ग सचेतन केन्द्रले अपाङ्ता दिवस आयोजना गर्ने , २३ गते पर्ने भ्रष्टाचार विरुद्धको दिवस मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र मानव अधिकास संरक्षण सञ्जासँगको सहकार्यमा र मानव अधिकार दिवस तथा अभियानको समापन कार्यक्रम मङ्सिर २४ गते नगरपालिकाको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले आयोजन गर्ने तयारी छ ।