रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सेवा विस्तारमा आफुले ध्यान दिएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्बा बजारमा आयोजना गरेको वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
निगमको सेवालाई थप प्रभावकारी बनाउँनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ, अब चाँडै निगमको सेवा विस्तार हुन्छ मन्त्री आलले भन्नुभयो । मन्त्री आलेले रामेछाप सदरमुकाम मन्थली विमानस्थलको स्तरोन्नति गर्दै नियमित उडान सञ्चालन गर्ने विषयमा पनि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।
मन्त्री आलले भन्नुभयो अहिले मन्थलीबाट–लुक्ला मात्र उडान हुँदै आएको छ, अब छिट्टै मन्थलीबाट काठमाडौंमा पनि नियमित उडान हुन्छ, यसका लागि आवश्यक गृहकार्य भैरहेको छ । उहाँले निगमको थन्किएर बसेका चीनियाँ जहाज मर्मत गरेर सञ्चालनमा ल्याएसँगै नियमित रुपमा एउटा फ्लाइट चल्नेगरी व्यवस्था मिलाउने बताउनुभयो ।
त्यसैगरी मन्त्री आलेले रामेछापको पर्यटन क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी रामेछापका इन्चार्ज एवम् पोलिटव्यूरो सदस्य देवशकंर पौडेल, पोलिटव्यूरो सदस्य बिजय गुरुङ, केन्द्रीय सदस्य होमबहादुर बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ । पर्यटन मन्त्री आलेले खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी किनारासँगै रहेको विश्वमित्र गुफाको अवलोकन एवं दर्शन पनि गर्नुभएको छ ।
अब मन्थली–काठमाडौं नियमित उडान हुन्छ : मन्त्री आले
- प्रकाशित मिति: मंगलबार, कार्तिक ३० २०७८
- तामाकोशी