प्रचार नहुँदा ओझेलमा डुकुरसिं महादेव

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा रहेको डुकुरसिं महादेव प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । धार्मीक र ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डकुरसिं महादेवथान बाबियाखर्क डाँडाको टुम्पोमा जङ्गलभित्र छ । जहाँ गाईको खुरको आकारमा महादेवको शिला छ ।
अङ्ग्रेजको नेपाली माथिको आक्रमण रोक्न सिन्धुली गढीमा नेपाली फौजको लडाईँ चल्दा यो स्थानमा सेनाको एउटा टुकडी ब्याक फोर्सको रुपमा बसेको थियो । त्यस्तै अर्को टुकडी रामेछापकै चिसापानी गढीमा ब्याक फोर्सको रुपमा बसेको थियो भन्ने ऐतिहासिक तथ्य रहेको स्थानीय नवराज घिमिरेले भन्नुभयो । सेनाको टोली त्यहाँ बस्दा डकुरसिं महादेवको आराधना गरी शक्ति प्राप्त गरेको भन्ने विश्वास छ ।
त्यसैले पनि यो महादेवस्थानलाई शक्तिका महादेव मान्ने गरिन्छ । टाढासम्मको दृश्य देखिने भएकोले पनि यो स्थानलाई सेनाले गढीको रुपमा प्रयोग गरेको थियो । यो ठाउँबाट पहिला मौसम खुल्दा भीमशेन थापाले बनाएको धरहरा देखिन्थ्यो रे, अहिले धरहरा पनि सानो भयो, मौसम पनि तुवाँलोले ढाक्न लाग्यो घिमिरेले भन्नुभयो ।
लामो समयसम्म पानी नपर्दा स्थानीय मिलेर सो महादेवस्थानमा रुद्री लगाउँदा त्यही दिन पानी पर्छ भन्ने विश्वास छ । डुकुरसिं महादेवस्थानमा रुद्री लगाएको दिन सानो ठूलो पानी पर्ने गरेकाले यो महादेवस्थान प्रति स्थानीयको आगाध विश्वास स्थानीयको छ । महादेव मन्दिरको आसपासका गाउँका मानिसहरु बस्तुलाई राम्रो होस भनि सो स्थानमा दुध चढाउन पुग्छन् ।
त्यहाँ भाकल गरेर दुध चढाउँदा गाई समयमा ब्याउने तथा गाईको बाँझोपन हराउने स्थानीयको विश्वास छ । त्यस्तै गाईले राम्रो बाच्छाबाच्छी जन्माउँछ भन्ने पनि स्थानीयमा विश्वास छ । यो स्थान धार्मीक र ऐतिहासिक रुपले मात्र होइन पर्यटकीय हिसाबले पनि त्यतिकै महत्वको छ । जिल्ला सदरमुकाम मन्थली तथा पुराना सदरमुकाम रामेछापको बीचमा पर्ने यो स्थानमा मन्थलीबाट रामेछाप घुम्न जानेको लागि यो उचित भ्रमणस्थल बन्नसक्छ ।
डुकुरसिं डाडामा जान मलयागिरीसम्म सडक बाटो बनेको छ । त्यहाँबाट महादेवस्थानसम्म पुग्नको लागि सिँढी हालिएको छ । डिभिजन वन कार्यालय रामेछापले सो स्थानमा पार्क निर्माणको लागि सहयोग गरेको छ । पछिल्लो समय रामेछाप नगरपालिकाले पनि सो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि केही संरचना निर्माणको काम सुरु गरेको छ ।