चिसापानीमा सहकारी मार्फत घरमै सामाजिक सुरक्षा भत्ता

  • प्रकाशित मिति: बुधबार, कार्तिक १७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको एक वडामा सहकारी मार्फत घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । नगरपालिकाको वडा नं ८ चिसापनीमा नागरिकको घरमै पुगेर पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । वडा कार्यालय, मन्थली नगरपालिका, राष्ट्रिय बाणिज्य बैँक र स्थानीय समावेशी बचत तथा ऋण सहकारी संस्थाबिच चार पक्षिय सम्भौता गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।
जेष्ठ नागरिक, अपाङ्ग, असहाय, एकल महिला गरी पाँच सय १४ जना नागरिकलाई उनीहरुको घरमै पुगेर पहिलो किस्ता भत्ता प्रदान गरेका छौँ, अहिले सदरमुकामको बैँकमा गयर पाँच घण्टासम्म लाइन बसेर भत्ता लिनुपर्दा विभिन्न समस्या भोग्दै आएका वृद्ध वृद्धाहरु खुसी भएका छन् वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । ।
राष्ट्रिय बाणिज्य बैँक र मन्थली नगरपालिका र वडा कार्यलयसँगको सहकार्यमासामाजिक सुरुक्षा भत्ता वितरणको काम गरिएको समावेशी बचत तथा ऋण सहकारी संस्था चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । एक हजार २५३ जना शेयर सदस्य रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था सामाजिक सुरक्षा भत्ता वितरण गर्ने देशकै एक मात्र सहकारी बनेको उहाँले बताउनुभयो ।
बैँक मार्फत सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थो राम्रो हो, तर गाउँगाउँका वृद्धवृद्धालाई बैँकसम्म पुग्नै समस्या छ, भत्ता लिन जाँदा र आउँदा वृद्ध बा आमा हरुले घण्टौँ लाइन बस्नुपर्ने लगायतका धेरै समस्या भोग्नु परेको छ उहाँले भन्नुभयो । उहाँले सहकारीले सदस्य सुरक्षा कोष स्थापना गरी ज्यान गुमाएका शेरय सदस्यका परिवालाई १५ हजार रुपैँयासम्म प्रदान गर्दै आएको पनि बनाउनुभयो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले स्थानीय स्तरमा रहेका सामाजिक संस्था तथा सहकारीहरुले अप्ठेरोमा परेका नागरिकहरुलाई ठुलो सहयोग गरेको बताउनुभयो । मन्थली नगरपालिका वडा नं ८ वडा मा सम्बन्धित निकायसँगको समन्वयमा समावेशी बचत तथा ऋण सहकारी संस्था मार्फत नागरिकको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु राम्रो कामको थालनी उहाँको भनाई छ । यो काम राम्रो पनि छ, चुनौतीपूर्ण पनि छ, त्यसैले नागरिकको घरमै पुगेर साजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित बनाउनुपर्छ उहाँले भन्नुभयो ।