रामेछाप । तामाकोसी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुख्र्यौली पेसा पूर्णरुपमा विस्तापित हुने अवस्था पुगेको छ । तामाकोसीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका माझी समुदाय अन्य पेसा व्यवसायमा लाग्दा पुख्र्यौली पेशा नै सङ्कटमा परेको हो ।तामाकोसी नदीमा पहिला जस्तो माछा पाउन छाडेपछि र ठाउँठाउँमा मोटररेवल पुलहरु बनेपछि डुङ्गा तार्ने, माछा मार्ने र जाँड बेचेर जिविकोपार्जन गर्ने माझी समुदायको अहिले आफुनो पुख्र्यौली पेसा छोडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिर खाने, वैदेशिक रोजगारीमा जाने र अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको छ ।
कोसीमा पहिला जस्तो माछा पाउन छाडेपछि माझी समुदायका युवाहरु आफ्नो पुख्र्यौली पेसा छाडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिरे हुने, वैदेशिक रोजगारीमा जाने र भैसी तथा बाख्रा पलानत तथा विभिन्न पेसा व्यवसायमा आवद्ध हुने क्रम बढेको मन्थली नगरपालिका वडा नं १ हाटेचौरका इन्द्रबहादुर माझीले बताउनुभयो ।गैर कानुनी रुपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण तामाकोसी नदीमा माछा पाउन छाडेपछि कोसी किनारमा बसोबास गर्ने माझि समुदायका पुरुषहरु वैदेशिक रोजगारीमा जाने र महिलाहरु किनारा पसल लगायत अन्य पेसा ब्यवसायमा लाग्ने क्रम बढेको मन्थली नगरपालिका वडा नं १ की मञ्जु माझी बताउनुहुन्छ ।
तामाकोसी नदी किनारमा बस्ने माझी समुदायका अधिकांश मानिसहरु पुख्र्यौली पेसा छाडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इटा भट्टा लगायत अन्य पेसा ब्यवसायमा लागेका छन् । नेपालको अतिसिमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुदै गइरहेको अवस्थामा रामेछापका माझी समुदायले आफ्ना भाषा, संस्कार, सँस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए ।तर, आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भएपछि माझी समुदायको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार रामेछापमा माझी समुदायको जनसंख्या ६ हजार ४२ रहेको छ ।
माझी समुदायको पुख्र्यौली पेसा संकटमा
- प्रकाशित मिति: शुक्रबार, कार्तिक ५ २०७८
- तामाकोशी