रामेछाप । नेपाली कांग्रेस रामेछापको यही असोज १६ गते हुने जिल्ला अधिवेशनमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने यसअघि लवश्री न्यौपानेसँग झिनो मतले मात्र पराजित भएका कृष्ण महतले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै यस पटक गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका पूर्ण बहादुर तामाङ कान्छारामले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । घोषित उम्मेदवारहरुमध्ये कृष्णबहादुर महतको सम्भावना बढ्दै गएको नेपाली काँग्रेसका कार्यकर्ताहरुले दावी गरेका छन् ।
अरुको भन्दा अब्बल भिजनसहित चुनावी मैदानमा होमिएका महतको चुनावी घोषणा समेत अब्बल मानिएका छन् । रामेछापको ६४ वटाबाट १४ सय क्षेत्रिय प्रतिनिधिहरु चयन भइसकेका छन् । यस्ता छन् महतका चुनावी भिजनहरुः
नेपाली काँग्रेसका हरेक गतिविधिसँग न्यूनतम दुई करा आधारभूत रूपमा जोडिएर आउँछ । काँग्रेससँग एकातिर विचार छ भने अर्कोतिर संगठन छ । यी दुई पयरमा उभिएर कांग्रेस हिँड्छ, दौडिन्छ। लोकतान्त्रिक मैदानमा यी दुई सबल पयरमा टेकेर निस्फिक्री विचरण गर्ने काँग्रेस आज कहाँ पुग्यो ? नेपाली कांग्रेसप्रति आस्थावान हरेक कार्यकर्ता र शुभचिन्तकले हाम्राउपर तेर्स्याउने र हामीले पाइला पाइलामा सामना गर्नुपरेको आजको यक्ष प्रश्न हो यो, जसको जवाफ खोज्न हामीले आफ्नै धरातल हेर्नुपर्ने हुन्छ।
अघिल्लो अधिवेशनमा प्रतिनिधि साथीहरुको मन जित्दाजित्दै पनि विविध कारणले साथीहरुको मत जिल्न सकिन र झिनो मतान्तरले म सभापति पदमा पराजित भएँ निर्वाचनमा जय पराजय स्वाभाविक थियो । निर्वाचित कार्यसमितिले पार्टीको सिद्धान्त, मूल्य, मान्यताभित्र रहेर आधारभूत जिम्मेवारी पूरा गर्नेछ भन्ने मेरो विश्वास थियो तर उक्त कार्यसमितिले व्यतित गरेको ५ वर्ष लामो कार्यकाल हेर्दा मेरो आशा र विश्वास निराशामा परिणत भएको छ। त्यसैले तदारुकताका साथ निम्न जिम्मेवारी पूरा गर्न र रामेछापमा नेपाली काँग्रेसको चारतारे झण्डा फहराउनका लागि नेपाली काँग्रेस रामेछापको १४औं अधिवेशनमा मैले सभापति पदको उम्मेदवार हुने निर्णय लिएको छु ।
१) पार्टी बलियो हुनको लागि चुस्त र छरितो संगठन आवश्यक पर्दछ, त्यसैले जिल्ला कार्यसमिति, २ वटा प्रदेश समिति, ८ वटा स्थानीय तह र ६४ वटा वडा समिति हुँदै निर्वाचन बुथ कमिटीसम्म छरिता र चुस्त संगठन निर्माण गर्ने कार्यको यथाशीघ्र नेतृत्वदायी पहलकदमी लिनेछु। संगठन चलायमान बनाउनेछु। संगठन निर्माण गर्दा महिला, दलित, आदिवासी जनजाति सबै पक्षलाई समेटेर समावेशिता कायम गर्नेछु ।
२) निकट भविष्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस रामेछापको उम्मेदवारहरूलाई ६४ वडा, ६ गाउँपालिका र २ नगरपालिकामा विजय गराउनका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउनेछु साथै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतसहित विजयी गरडान सशक्त भूमिका सहितको प्रतिबद्धता जनाउछु ।
३) हरेक तहका संगठन र कार्यसमितिको नियमित बैठक बसाल्नका लागि उत्प्रेरणा दिनेछु । हरेक समितिको नियमित रूपमा कार्यप्रगति विवरण बुझ्नेछु। केन्द्रले तय गरेका बाहेक जिल्लाका आफ्नै कार्यक्रममा पनि नियमितता दिनेछु ।
४) नेपाली काँग्रेसका भातृ संस्थाहरू जस्तैः नेविसंघ, तरुण दल आदि पार्टीका लागि नेता कार्यकर्ता उत्पादन गर्ने नर्सरी हुन् । त्यसैले सम्पूर्ण भातृ संस्थाहरू र शुभेच्छुक संघसंस्थाहरूको समयमै अधिवेशन गर्नका लागि पहल गर्नेछु । अस्तव्यस्तताको भुङ्ग्रोबाट भातृ र शुभेच्छुक संघसंस्थाहरुलाई बाहिर निकाल्नेछु ।
५) वैचारिक रूपमा प्रशिक्षित र जुझारु कार्यकर्ताले मात्र समस्याको जरो पकड्न, समाधानको उपाय खोज्न, विपक्षीसँग यथोचित मुकाबिला गर्न र हाम्रा आफ्ना कार्यक्रम जनताका बीचमा लैजान सक्छन् । त्यसैले पार्टी सदस्यहरूलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनेछु।
६) सूचना प्रविधिको अधिकतम विकास र बिस्तार भएको यस आधुनिक युगमा पार्टीका जिल्लास्थित कार्यसमितिहरू, सदस्यहरू, क्रियाशील सदस्यहरू, भातृ र शुभेच्छुक संघसंस्थाहरूका कार्यसमितिहरू तथा सदस्यहरू र पार्टीका सम्पूर्ण गतिविधिहरू आधिकारिक वेबसाइट ९ध्भदकष्तभ० मार्फत अद्यावधिक गर्ने व्यवस्था मिलाउनेछु ।
७) सबै प्रकारका आर्थिक र अन्य गतिविधि पारदर्शी तबरले सञ्चालन गर्नेछु ।
८) जिल्लामा निर्माणाधीन पार्टी कार्यालयलाई सुविधा सम्पन्न बनाउने २८ वटै स्थानीय तहमा क्रमिक रूपमा पार्टी कार्यालय बनाउन पहल कदमी लिनेछु। साथै मन्थली बजारमा जीर्ण अवस्थामा रहेको वि.पी. को शालिक स्तरोन्नति गर्नका लागि वि।पी। प्रतिष्ठान रामेछापसँग सम्वन्य गरी गुरुयोजना बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । सँगसँगै वि.पी. पुस्तकालय समेत निर्माण गरिनेछ ।
९) सबै प्रकारका गुट उपगुट अन्त्यका लागि यथोचित कदम चाल्नेछु। नेतृत्वको परिक्रमा गर्नेलाई होइन, पराक्रमी कार्यकर्तालाई स्थान दिनेछु । योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने परिपाटीलाई संस्थागत गर्नेछु । सम्पूर्ण कार्यकर्ताको अभिभावकका रूपमा काम गर्नेछु ।
१०) मेरो राजनैतिक जीवनमा त्याग, समर्पण, उदारता, मेहनत र इमान्दारिताको साथले यो क्षणसम्म पुगेको छु र म एक कार्यकालका लागि मात्र सभापति रहने कुरा निवेदन गर्दछु । मेरो कार्यकालभरि अन्य कुनै पदको आकांक्षी हुनेछैन र एकै कार्यकालमा मैले गरेका प्रतिबद्धता पूरा गर्ने घोषणा गर्दछु ।
धन्यवाद ।। जय नेपाल ।।

