पर्यटकीय गन्तव्य शैलुङमा थपियो नयाँ आकर्षण

  • प्रकाशित मिति: आइतबार, असोज १० २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङको आकार्षण थप बढ्दै गएको छ । पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बलेपछि शैलुङको आकर्षण थप बढेको हो । दोरम्बा शैलुङ गाउँपालिका, राजभिर टासी छोलिङ गुम्बाका धर्मगुरु सोनाम हयोल्मोको पहल र नेपाल विद्युत प्राधिकरणको सहयोगमा पहिलो पटक शैलुङको छर्योतेन र भ्युटावरमा बिजुली बलेको छ । खोलाखर्कदेखि शैलुङको भ्युटावरसम्म करिब एक किलोमिटर बिजुली विस्तारको लागि पोल र तार नेपाल विद्याुत् प्राधिकरणले उपलब्ध गराएको थियो ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले करिब आठ लाख रुपियाँ लागतमा शैलुङमा विद्युतीकरण गरिएको बताउनुभयो । दोरम्बा शैलुङ गाउँपालिका र राजभिर टासि छोलिङ गुम्बाको धर्म गुरु सोनाम ह्योल्मोको लगानीमा शैलुङको छ्योर्तेन र भ्युटावरमा बिजुली बत्ति बलेको छ, शैलुङमा बत्ति बल्दा रामेछाप जिल्लाकै शीर र मुहारै उज्यालो भएको छ, यसले शैलुङमा पर्यटकको आकर्षण थप बढेको छ उहाँले भन्नुभयो । उहाँले विद्युतीकरणको कार्यमा सहयोग गर्नुहुने धर्मगुरु र नेपाल विद्युत प्राकिरणलाई धन्यवाद दिनुभयो ।
शैलुङ्गको सौन्दर्य नविग्रियोस भनेर बिजुलीको तार अण्डरग्राउण्ड गरिएको बताइएको छ । केही समय अघि मात्र पर्यटन विभागले शैलुङ्गको भ्युटावर दोरम्बा शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । शैलुङ प्राकृतिक रुपमा अति रमणीय छ । प्राकृतिक रुपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने शैलुङ्ग सबैको मन लोभ्याउने प्रकृतिको वरदानको रुपमा रहेको छ । शैलुङ्मा फूल्ने विभिन्न फूल तथा विभिन्न जातका गुराँस र चिमल शैलुङ्गको अर्को आकर्षण हो । शैलुङमा बाह्रै महिना कुनै न कुनै फूल फुलिरहेका हुन्छन् । हिउँद महिनामा पर्ने हिउँ खेल्ने शैलुङ्ग पुग्नेले छुट्टै आनन्द प्राप्त गर्दछन् ।