लोक सेवा आयोगको परिक्षामा मेरो अनुभवः

  • प्रकाशित मिति: सोमबार, साउन ३२ २०७८
  • तामाकोशी

लोक सेवा तयारीलाई अप्ठेरो र बोझिलो मानेर हैन रमाएर भविष्य सुनिश्चत गर्ने आधार मानेर अध्ययन गरे पास गर्न कत्ति पनि गाह्रो हुन्न रहेछ । मैले तयारी गर्दाको अनुभव तपाईलाई सियर गर्छु सायद यसो गर्नु भयो भने तपाई पनि सफल हुन सक्नुहुन्छ की ।

१) पहिलो कुरा तपाईको जीवनलाई तपाईले नै के गर्ने  ? भनेर निर्णयकर्ता तपाई नै हुने भएकोले तपाई पहिले लक्ष्य निर्धारण गर्नुस् । निजामति सेवा नै मेरो रहर अनि लक्ष्य हो भनेर आफुले आफुसंग (कमिटमेन्ट) गर्नुहोस् । यो पहिलो कुरा भयो। तपाईले पारिवारीक सल्लाहा गर्नुहोस् र पारिवारीक सहयोगको अपेक्षा गर्नुस्। मलाई १ वर्ष कम्तिमा समय दिनुहोस् आवश्यक खर्च व्यवस्थापन गर्नुहोस् भन्नुहोस् । परिवारको सहयोगविना प्राय लोकसेवा पास गर्नु असम्भव हुन्छ । पारिवारीक तनाब लिएर लोकसेवा पास गर्न सकिँदैन ।



२) तपाईको शैक्षिक योग्यता अनुसार के-के मा लोकसेवाको जाँच दिन मिल्छ ? त्यो सबै निर्धारण गर्नुहोस् आफुले लोक सेवाको जाँच दिने तह वा श्रेणीको पाठ्यक्रमहरु लिनुहोस् सबै लोकसेवाको वेवसाइटमा उपलब्ध छ ।

३) हरेक वर्ष कुन महिना के पदको लोक सेवाको विज्ञापन हुने हो त्यो पुर्वनिर्धारित हुने भएकाले कुनै एक पद मात्रै खुले पनि तपाईलाई चाहिएको एक पद मात्रै हो सैयौँ भएर केही काम छैन । एउटा पदमा विज्ञापन भयो भने पनि त्यो तपाईका लागि सुरक्षित हो भनेर अध्ययन गर्नु पर्छ । वार्षिक क्यालेन्डर लोक सेवाको वेवसाइटमा उपलब्ध छ त्यो लिएर अध्ययन गर्ने ।

४) लोक सेवाको बजारमा उपलब्ध पुस्तक कम्तिमा ३ जना फरक फरक लेखकको संकलन गर्ने । संविधान योजना र निजामती सेवा ऐन नियमावली सुशासन ऐन नियमावली जस्ता कुराहरु पनि संगै राखेर अध्ययन गर्ने । सबै पाठ्यक्रमलाई सबै विषयलाई दैनिक समय दिएर अध्ययन गर्ने । तपाईले एक विषय राम्रो अध्ययन गर्नु भयो अनि अर्कोलाई समय दिनु भएन वा पहिलो पेपर पास गरेर अरु अध्ययन गर्छु भन्दा जीवनमा लोक सेवा पास गरिन्न । त्यसैले सबै पेपरलाई उत्तिकै समय दिएर अध्ययन गर्दा मात्रै सफल भइन्छ ।

५) लोक सेवा पास नहुँन्जेलसम्म तपाई असामाजिक हुनु पर्छ । (जस्तैः जन्त पार्टी सेमिनार भ्रमण साथिभाई भेटघाट डेटिङ्ग सबै छोड्नुपर्छ ।) नाम निकालेर सिफारिस भएको भोलीपल्टबाट सबै सम्बन्धहरु नविकरण गर्न पाउँनुहुन्छ नी ।

६) हरेक नआउँने विषयलाई साथि बनाउनुस् प्रिय बनाउनुहोस् । अनि सजिलै सिकिन्छ । अर्को साल अधिकृत हुन चाहनुहुन्छ भने अहिलेबाट अध्ययन सुरु गर्नु भयो भने सजिलै सक्नुहुन्छ । अन्यथा विज्ञापन प्रकाशन पछि आवेदन गरेर अध्ययन गर्दा कोही पनि पास हुन सक्दैन । (कल्पना गर्नुहोस् त नेपाल सरकारको निजामति सेवामा सेतो सर्ट निलो पेन्ट निलो कोट कालो जुत्ता र टाइ बाँधेर शाखा अधिकृतको कुर्सीमा बस्न लागेको दिन सम्झनुत । अनि तपाइको परिवार को खुसी पनि सम्झनुहोस न उर्जा मिल्छ । असफल हुने चान्स नै छैन ।)

७) परीक्षा दिदा सम्ममा कम्तिमा पनि तपाईले सबै विषयवस्तुलाई २५ पटक पढ्ने र लेख्ने गर्नुपर्छ । यसका लागि करिब ६ महिना लाग्छ । नोट बनाउनुहोस् राम्रो हुन्छ । अनि तपाईले यूट्यूबमा पनि कन्टेन्ट टाइप गर्नु धेरै समाग्री भेटिन्छ । आँखा पोल्यो पढ्दा भने यूट्युबबाट सुन्नुहोस् । बाँसुरीको मिठो सुमधुर धुन मन पराएको जस्तै गरी लोकसेवाको अध्ययन समाग्री पनि सुन्दा लाग्नु पर्यो। उपन्यास पढे जस्तै मन छुनु पर्यो ।

८) अनि पढ्न मन लागेन भन्ने गुनासो हुन्छ । जति पढे पनि दिमागमा बसेन भन्ने गुनासो हुन्छ । यसको अन्तिम विकल्प भनेको पढ्ने हो है ।अर्को कुनै विकल्प नै छैन नी त । भोक मार्नुको विकल्प खानु हो ।

गोकुल भुजेल कानुन अधिकृत नेपाल सरकार