सबैको स्मृतिमा आउने अत्याशलाग्दो घटना ‘दोरम्बा हत्याकाण्ड’

  • प्रकाशित मिति: सोमबार, साउन ३२ २०७८
  • तामाकोशी

साउन ३२  त्यो कालो अत्याशलाग्दो पल मेरो र मेरो परिवारकै दुःखमा झन बढी बादल मडारिएको दिनका रुपमा रहन्छ । मेरी आमाको सिउँदो पुछिएको र हामीले अभिभावक गुमाउनुपरेको त्यो क्षण, बालाखै उमेरमा घरको छानो नै उजाड भएको र कान्छो भाइको दुध खाने उमेरमा किरियापुत्री बस्नुपर्ने बाध्यता आईलागेको दिन । साउनको अन्तिम दिन सबैको स्मृतिमा आउने एउटा अत्याशलाग्दो घटना हो ‘दोरम्बा हत्याकाण्ड’ । कहिलेकाही क्यालेण्डरमा साउन ३१ मात्रै देखिन्छ, यदाकदा साउन महिना ३२ दिनको महिनाका रुपमा पनि देखापर्छ । जब क्यालेण्डर हेर्दा साउन महिना ३२ गतेसम्म छ भन्ने देखिन्छ, तब स्मृतिमा दोरम्बा हत्याकाण्ड झन झन टड्कारो बनिदिन्छ । कुरा २०६० साउन ३१ गते शनिबारको हो । बिहानै ७ बजे तिर बुबा उठेर हातमा एउटा बोराको झोला बोकेर निस्कनु भएको थियो । दोरम्बा जाने र फर्किदा आलु तरकारी लिएर आउने भन्ने कुरा घरमा चलेको थियो ।
बुबा जानुभयो । हामी घरमै बस्यौ । मेरो उमेर बालापन नै थियो । घरमा लाउन खानको पनि दुःख नै थियो । गाउँमा खेतिपाती थियो बुबाको रोजगारी थिएन, ब्यापार थिएन । निम्न मध्यम वर्गको हाम्रो परिवार जसो तसो दशैँमा एकजोर कपडा सम्म फेर्न सक्थ्यौँ । पठन पाठनको व्यवस्था गाउँमै थियो हाम्रो । यो अवस्थाको परिवार पनि २०६० साल साउन ३२ गते तहस नहस भयो । त्यो दिनको घटना हामिलाइ त थाहै भएन । घरमा रेडियो पनि थिएन, न फोन न टेलीभिजन । खबर थाहा पाउने कुरै भएन । हामी ५ भाइमध्ये म साइलो छोरा । दुई दाईहरु दुखका कारण ढ्नि मुस्किल भएपछि भारततिर लागि सक्नु भएको थियो । भाइ, दुई वटी बहिनी थिए साथमा । एक मात्र दिदीको पहिल्यै बिहे भएको थियो घरमा ठुलो भन्ने म जम्मा १४ वर्षको थिएँ । बुवा घरबाट त जानुभयो, आशा थियो तरकारी लिएर आउनु हुन्छ । तर खबर आयो लासको । तत्कालिन माओवादी र शाही सेनाबीच लामो द्वन्द चलेको थियो । माओवादी हतियार बिसाउन तयार भएर शान्ति सम्झौताको वार्ता पनि चलिरहेको थियो । दुबै पक्ष (सरकार र माओवादी) ले एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमती पहिल्यै भईसकेको थियो । दाङको हापुरेमा वार्ता पनि चलिरहेको थियो । तर, रामेछापको दोरम्बामा तत्कालिन शाही सेनाबाट सरकार र बिद्रोही भनिएको माओवादीबीच वार्ता भईरहेकै समयमा शान्ति वार्ता उलङ्घन भयो । बिना हतियार बसिरहेका १९ जनाको हत्या भयो । १९ जना बसेको घरका व्यक्ति युवराज मोक्तान र उनका छोरा लिला मोक्तानसहित २१ जनाको हत्या भयो । वर्षाको मौसम, चारैतिर हुस्सु लागेको अवस्थामा उनीहरु बसेको घर पत्ता लगाएर सेनाले सबैलाई आँखामा पट्टि बाँधेर दोरम्बा बजारभन्दा परको जंगलमा लगेर मारेको रहेछ । हामीलाई त घटनाबारे भदौ २ गते मात्रै थाहा भयो ।
तर, पनि आधिकारिक भएन । घरमा रुवाबासी भयो । घरमा ठूलो भन्ने म थिए । त्यो हल्लाले गाउँ भरीका मानिसहरु हाम्रो घरमा आउनसम्म डराए । छर छिमेकी कोही निस्किदैनन् । म र हाम्रो बुबाको साथी तुलसी गिरी खोजीमा दोरम्बा तर्फ लाग्यौ । पानी परिरहेको बेला थियो । झरीमा रुझ्दै, लेकमा जूकाले खुट्टाबाट पानी सरी रगत बगुन्जेल चुसिरह्यो । अन्ततः भदौ ५ गते त्यो ठाउँमा पुग्यौ । हेर्दा रक्ताम्मे पाखो, बाटो र घारी । तत्कालीन पार्टीका नेताहरु हरि दाहाल (ललित) र बिनोद चौलागाईहरुले लासलाई घारीबाट ल्याएर माथि चौरमा दबाउनु भएको रहेछ । उहाँहरुलाई पनि भेट्न् सकिएन । पत्ता त लाग्यो कि मारेकै हो भनेर । तर मलाई बिश्वास लागेन र खोतल्न मन लाग्यो, हेर्न मन लाग्यो । त्यहाँका केही स्थानीयलाई कुन खाडल हो भनेर सोधपुछ पनि गरेँ । अनि हातले खोतलेर हेर्दा अनुहार पुरै नचिनिने, देखे पनि चिन्न मुस्किल पर्ने भयो ।

बुबाको गोडामा बन्चरोले काटेको चोट थियो र हेर्दा थाहा भयो । म झन स्तब्ध भए । गोडा लागेन । जसोतसो घरसम्म फर्कियौँ । घर आउँदा कोही मेरो घरमा फर्किएका थिएनन् । रुँदारुदै आमाको अबस्था अचेत भएको थियो । तत्कालीन पार्टीका कोहि मान्छे पनि आएनन् । भदौ ६ गते म आफैँले रुँदैरुदै केही मान्छेलाई खबर गरे । अनि ७ गतेबाट परम्परा अनुसार म र भाइ कोरा पसियो । तर, बिडम्बना, त्यो वर्ष भरी नै पार्टीका कुनै नेता कार्यकर्ता फर्किएनन् । २०६१ सालमा अहिलेका प्रतिनिधिसभा सदस्य (माननीय) दाई श्याम कुमार श्रेष्ठ र पूर्व माननीय पार्वती रसाइली आउनु भएको थियो । त्यसरी तहस नहस भएको परिवारमा आर्थिक संकट कहालिलाग्दो अवस्थामा पुग्यो । भाइ बहिनीले पढ्न नपाउने भए भन्ने चिन्ता थियो । त्यसैले विदेश जाने सोच बनाए । पासपोर्ट बनाउन मन्थली झर्दा आकाशे प्रहरी चौकीमा मलाई सोधपूछ भयो । सेतो कपडामै थिए, बरखी बारेकोले गर्दा । सोधपूछका बेलामा मैले दोरम्बा घटनाको कुरा गरे । त्यसपछि प्रहरीहरले मलाई ‘ए माओवादी पो, बाउ मरेछ । तेरो सम्पर्क कहाँ कहाँ छ भन ?’ भनेर मेरो कलिलो मष्तिस्कमा तनाव दियो । त्यो घटनापछि मेरो घरमा कोही पनि आएका छैनन्, मेरो कही कतै सम्पर्क पनि छैन भने ।
तर प्रहरीहरु मान्न तयार भएनन् । कुटपिट गर्दै लछारपछार गर्दै गाडीमा हाले म बेहोस भएछु । कहाँ लागे याद भएन । पछि हात पछाडी बाधेर एउटा खोर जस्तो ठाँउमा राखेको रहेछ । साँझ होस आउँदा थाहा भयो, आर्मीको ब्यारेक छेउ रैछ मन्थलीको । कुटाई खाएर कलिलो शरीर थिलथिलो भएको थियो, घाटी सुकेर श्वास नै अड्केला जस्तो भएको थियो । घाँटी भिजाउन पाएँ बाँच्थे कि भन्ने आशाले पानी मागे । पानी पनि दिएनन् । मेरो श्वर नै नआउने भयो । राती भएपछि सुरुमा आएका प्रहरीहरु नै मातेर आउँथे सोधपुछ गर्न । हतियारको बारे, रेडियोको बारे, बैंकको बारे मैले सोच्नै नसक्ने कुराहरु सोध्ने । मलाई थाहा थिएन, छैन भन्थे । त्यसपछि रातीसम्म यातना दिन्थे । यस्तै चल्दै गयो । गोडाको एउटा औलो भाचियो । दाहिने हातको कान्छी औलाको फेद नि ‘फ्याक्चर’ हुने गरी कुटे । त्यो फ्याक्चर भएको औला अहिलेसम्म निको भएन । पाखुरामा १२ टाँका लाग्ने गरी काटेको थियो । मलाई पनि मार्थे होला, तर बेलायतबाट छानबिन टोलि आएकोले आफन्तको खोजी हुँदा ९ दिनको दिन अस्पताल लगेर समान्य मलम पट्टी गरेर मलाई दोरम्बा लगिएको थियो । त्यहाँ मलाई बेवारिसे अवस्थामा छोडियो । शरीर भरी धेरै निल डाम र घाउ भएकोले हिड्न सकिन । त्यसपछि ३ दिन त्यतै बसे ।



त्यस्ता कहालिलाग्दा दिन छिचोलेर पछि विदेश गए । भाइ बहिनी पढ्दा, घरमा चुलो बाल्दा लागेको ऋण तिर्ने काम भयो । तर, दुःख लाग्ने कुरा, हरेक वर्ष साउन आउँछ । साउन ३२ मा दोरम्बामा हत्या गरिएका सहिदको स्मृतिमा आयोजना हुने औपचारिक साधारण कार्यक्रम पनि पहिल्यैदेखि तयारी हुँदैन । साउन ३२ सकियो, सबै सम्झना र परिवारको वास्ता नै सकिन्छ । म सहित २१ परिवारको बिचल्ली भएको त्यो दिन पार्टीका लागि पनि कहिल्यै विशेष बनेन । दोरम्बा हत्याकाण्ड पछि भएको शान्ति सम्झौता लगत्तै पार्टी सरकारमा गयो । २०६४ को निर्वाचनमा एक्लै दुई तिहाई मत ल्याएर आफ्नै नेतृत्वमा सरकार बन्यो । त्यसपछि पनि पटक पटक कहिले आफ्नै नेतृत्व र कहिले सत्ता साझेदारीमा पार्टी सरकारमा पुगेकै छ । तर, दोरम्बा हत्याकाण्डमा मारिएर सहिद भएका ती २१ जना र तीनका परिवार कहिल्यै पनि पार्टीको आँखामा नपरेको भान हुन्छ । तत्कालीन मेजर राममणी पोख्रेल र उनका पूरा टिम अनि घटनाका दोषीमाथि अझै कारबाही भएको छैन । नेता टंकलाल घिसिङको सहजिकरणमा हामीले उजुरी गरेको पनि धेरै भईसक्यो । तर, खोजी सुनुवाइ भएको छैन । शान्ति समिति बनाइन्छ हामीलाइ थाहासम्म दिइँदैन । दोरम्बा घटना नेपाली इतिहासमा सबैभन्दा माथिल्लो स्तरमा रखियोस् भनेर बारम्बार ध्यानाकर्षण गराउँदा पनि वास्ता भएको छैन । भनिन्छ नि, सास रहुन्जेल आश । त्यसैले एक दिन न एक दिन त कसो यो माग पूरा नहोला र भनेर शरीरमा एक मुठ्ठि श्वास रहेसम्म यो माग कायम राख्ने प्रण गर्दछु ।

लेखकःकपिलराज गिरी
सहिद स्व. पदमराज गिरीको छोरा
हाल नेकपा माओवादी केन्द्र मन्थली नगर सचिवालय सदस्य हुनुहुन्छ